पर्सामा स्थानीय र प्रहरीबीच झडपः घटनामा ५ प्रहरी घाइते

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २४, २०७५

वीरगञ्ज,बैशाख २४। जिल्लाको जिराभवानी गाउँपालिका–२ सेढवामा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न गएका स्थानीय र प्रहरीबीच झडप भएको हो । घटनामा ५ प्रहरी घाइते भएका छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–४ सुवर्णपुरबाट मोबाइल चोरी र मादक पदार्थ सेवनको आरोपमा पक्राउ परेका ६ जनालाई छुटाउन माग गर्दै पुगेका स्थानीय तोडफोडमा उत्रिएपछि झडप भएको जानकारी दिएको छ ।

झडपमा ५ प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको अवस्था सामान्य रहेको छ ।

प्रहरीले ठोरी ४ सुवर्णपुर बस्ने २३ वर्षीय सुबा लामा र २५ वर्षीय दिनेश लामालाई मोबाइल चोरी आरोपमा नियन्त्रणमा लिएको थियो भने बेतिया घर भएका २२ बर्षिय बजरंगी गौरो, राम प्रवेश गौरो, २१ वर्षीय वीरम्भर गौरो र दयाल महतोलाई मदिरा सेवन गरी एउटै मोटरसाइकलमा यात्रा गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय सेढवामा राखेर पोखरिया लैजाने तयारी गर्दै गर्दा राति १० बजेतिर महिलाहरुको समूह आएर प्रदर्शन गरेको र त्यसपछि मध्यरातमा उछृङखल पुरुषहरुको समूह आएर प्रहरीमाथि ढुंगामुढा तथा आगजनी गरेको प्रहरी भनाइ छ ।

स्थानीयले प्रहरीले प्रयोग गर्दै आएको दुईवटा मोटरसाईकलमा आगजनी गर्नुको साथै प्रहरी कार्यालय परिसरभित्र रहेको टहराहरु समेत भत्काइदिएका छन् ।

त्यसपछि भिडलाई नियन्त्रणमा लिन पौने ३ बजेतिर १२ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले बताएको छ । प्रहरीले स्थानीय बासिन्दाहरुसँग मिसिएर भारतीय नागरिकहरु समेत आक्रमणमा आएको दाबी गरेको छ ।

यसैबीच, प्रहरीले स्थानीयलाई तोडफोड र आगजनीका लागि उक्साएको आरोपमा जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरीलाई पक्राउ गरेको छ । छिमेकी शुभनारायण पटेलको घरमा लुकेर बसको अवस्थामा आज बिहान चौधरीलाई पक्राउ गरेको हो ।