काठमाडौं,बैशाख २१। महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा रहेका दुई अभियुक्तको सुनका गहना हराएपछि घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ ।
उनीहरु राति साढे ९ बजे जमल क्षेत्रबाट पक्राउ परेका थिए । सार्वजनिक अपराधमा अनुसन्धानपछि ३ वैशाखमा छुटे । तर, निस्किने वेलामा आफ्नो सबै गहन पाएनन् ।
प्रहरी वृत्तभित्र सुन गायब भएको खबर वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दानबहादुर मल्लसम्म पुग्यो । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा छानबिन समिति नै गठन भएको छ ।
समितिमा सई एकराम खड्का, मुद्दा शाखाका असई प्रेम शाही, हवल्दार वीरबहादुर सुनुवार र प्रहरी जवान मोहन बुढाथोकी छन् ।
समितिले हालसम्म गायब भएको सुन कहाँ गयो भन्ने पत्ता लगाउन सकेको छैन ।
डिएसपी मल्लले घटनाबारे ढिला गरी आफूलाई जानकारी भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘समिति बनेको छ, त्यसले धेरै कुरा हल गरिसकेको छ ।’
यसअघि पनि सोही वृत्तका प्रहरी अधिकारीले होटल ल्याण्डमार्कमा युवतीमाथि भएको सामूहिक बलात्कारमा पीडित र पीडकलाई मिलापत्र गराएका थिए ।
जसमा तत्कालिन प्रहरी प्रमुख डिएसपी तिलक भारती त्यहाँको प्रमुखबाट हटाइएका थिए भने प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी निलम्बनमा परेका थिए ।
गत २२ चैतमा सार्वजनिक अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका युवराज लामा र रोजन बस्नेतको दुईरदुई वटा औंठी, मुन्द्रा, एउटा टप र चाँदीको ब्रासलेट गरी ८५ हजार रुपैयाँ बराबरको गहना चोरी भएको हो ।