धनगढी,बैशाख २१। यहि वैशाख २२ गते हुने भनिएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचन उच्च अदालत दिपायलले रोकिदिएको छ ।
कैलाली उद्योग वाणिज्य संघका कानुनी सल्लाहकार एवम् अधिवक्ता विरबहादुर जेठाराले मुख्य न्यायाधीश यज्ञराज बस्याल र शेखर अर्यालको इजलासले स्टेअर्डर जारी गरेपनि अर्को आदेश नभएसम्मका लागि चुनाव स्थगित गरेको बताए ।
उनले फैसला आफूहरुको हातमा आइनसकेको बताउँदै त्यसको जवाफ दिएपछि मात्रै अर्को मिति तोकेर बहस हुने भएकाले चुनावका लागि अर्को फैसलासम्म कुर्नुपर्ने बताए ।
उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि वर्तमान महासचिव रुपेश स्वाँर र कोषाध्यक्ष पुष्पराज कुँवरको छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छन् ।
फर्जी मतदाता बनाई चुनाव जित्ने खेलमा लागेको भन्दै धनगढीका तीनजना व्यवसायी रविनकान्त पन्त, संजय कुमार चौधरी र जयराज न्यौपानले हालेको रिटको फैसला गर्दै उच्च अदालत दिपायलले अर्को आदेश नभएसम्मका लागि चुनाव रोक्न भनेको हो ।