धादिङ बैशाख २० । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको चुनावी माहोल उत्कर्षमा पुगेको छ ।
प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टर साझा उम्मेदवार प्रताप विष्ट र स्वतनत्र पत्रकार गिरिजा अधिकारी चुनावी मैदानमा होमिए सँगै चुनावी माहोल उत्कर्षमा पुगेका हो ।
आगामी वैशाख २२ गते हुने निर्वाचनमा एमाले, कांग्रेस र माओवादी निकटका पत्रकार संगठन बीच भएको गठबन्धनका उम्मेदवारहरु प्रतिष्ठान लगायतका अध्यक्ष, अन्य पदाधिकारी र सदस्य लगायत अधिकांश पदमा निर्विरोध निर्वाचित भै सकेका छन् ।
यसै बीच पत्रकार महासंघ जस्तो तटस्थ संचारकर्मीको छाता–संगठनमा राजनीतिक सिण्डिकेट हुन नहुने भन्दै गिरिजा अधिकारीले गठबन्धनका उम्मेदवार प्रताप विष्टको विरुद्ध उम्मेदवारी दिए सँगै प्रदेश अध्यक्षका लागि २२ गते चुनाव हुने भएको हो ।
हाल कुनै पनि पार्टी संगठनमा आवद्ध नरहेका अधिकारीलाई युनिय, चौतारी र सेन्टरका सदस्यहरुले नै भोटहाल्ने र स्वतन्त्र पत्रकारहरु अन्य पार्टी निकट संगठनका पत्रकारले पनि गिरिजालाई गोप्यरुपमा भोट हाल्ने बताए सँगै अधिकारी कडा टक्करमा उत्रिएका छन् ।
दलहरूको सिण्डिकेटले इमान्दार र असल पत्रकारले मौका नपाएको भन्दै पत्रकार महासंघले ब्यवसायिक पत्रकारहरूलाई मात्र प्राथमिकता दिनुपर्ने बताउँदै आफू सबै पत्रकारको साझा उम्मेदवार भएको र आफुले जितेमा निम्न कार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
१. प्रत्येक जिल्ला (दश वटै) शाखाका अध्यक्षलाई प्रदेश पत्रकार महासंघमा पदेन सदस्यको रुपमा सहभागी गराउने नीति निर्माण गर्न केन्द्रीय समिति समक्ष प्रस्ताव लगिनेछ ।
२. पत्रकारलाई विषयगत दक्षता बढाउने किसिमका तालिम, गोष्ठि जस्ता उपयोगी प्राविधिक सिपको व्यवस्था गरिनेछ ।
३. श्रमजीवि पत्रकारको हकहित, साना लगानीका मिडिया हाउसको स्थायित्वका लागि विगतमा कुरा धेरै भए यसपटक योजना बनाई काम गरिनेछ ।
४. प्रदेशभित्र कार्यरत श्रमजिवी पत्रकारको न्यूनतम तलब कम्तीमा २५ हजार कायम गर्न तथा साना÷मझौला मिडिया हाउसलाई सक्षम बनाउन प्रदेश भित्रका सबै सरकारी तथा अर्धसरकारी निकायका सूचना, विज्ञापन प्रदेशकै संचार माध्यममा समानुपातिक हिसाबले दिन पर्ने गरी कानुन निर्माणका लागि दवाब दिईनेछ ।
५. प्रदेश महासंघको आफ्नै भवन सुविधा सम्पन्न तालिम हल र प्रादेशिक लाईब्रेरी निर्माण गरिनेछ ।
६. प्रदेश स्तरमा रहेका सबै पत्रकार तथा मिडिया हाउसको जानकारी मुलक प्रोफाईल प्रकाशन गरिनेछ ।
७. मासिक खोजमुलक म्यागेजिन प्रकाशन गर्ने र सो म्यागेजिनमा प्रत्येक शाखाबाट १ जना प्रतिनिधि राखी व्यवस्थित गरिनेछ । साथै जिल्ला शाखाबाट सिफारिश भएका उक्त प्रतिनिधिलाई पारिश्रमिकको समेत व्यवस्था गरिनेछ ।
८. यस प्रदेशका पत्रकारहरुलाई अन्य प्रदेशमा प्रत्येक वर्ष पत्रकारिता सम्बन्धी अध्ययन भ्रमण गराउने व्यवस्था मिलाईनेछ ।
९. प्रदेश पत्रकार महासंघमार्फत अन्य छिमेकी देशहरुमा पत्रकारिता प्रवद्र्धन हुने गरि अध्ययन भ्रमण आदिको व्यवस्था गरिनेछ ।
१०. पत्रकार महासंघको पनि स्थानीय तहसम्म संरचना बनाउन आवश्यक पहल गरिनेछ ।
११. प्रेस काउन्सिल नेपाललाई प्रादेशिक संरचनामा लगी अधिकार सम्पन्न बनाउन समेत पहल गरिनेछ ।
१२. प्रदेशभित्र क्रियाशील अग्रज र समकालिन पुस्ताका पत्रकारलाई वार्षिक रुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने व्यवस्था गरिनेछ ।
१३. श्रमजीवि पत्रकारलाई दुर्घटना विमा, आकस्मिक उपचार कोषको व्यवस्थापन गरिनेछ ।
१४. श्रमजिवी पत्रकारले स्वदेश वा विदेशमा पत्रकारिता अध्ययन अनुसन्धान जस्ता कार्यमा जान चाहेमा जिल्ला शाखाको सिफारिसमा अध्ययन अनुसन्धान कार्यका लागि वर्षमा कम्तिमा ५ जनालाई आर्थिक सहायता÷ प्रोत्सहान उपलब्ध गराईनेछ ।
१५. अनलाईन मिडियाको आकर्षण बढ्दो छ, यसलाई व्यवस्थित गरी पत्रपत्रिका जस्तै वर्गाीकरणको व्यवस्था गर्न आवश्यक प्रयास गरिनेछ ।
१६. प्रत्येक ६ महिनामा एउटा जिल्ला शाखासँग प्रदेश समितिले अन्तरक्रिया गर्नेछ ।
साथै, माथि उल्लेखित योजनाहरु प्रदेश पत्रकार महासंघको पहिलो बैठकमा पेश गर्ने, आवश्यक छलफल गर्ने, आवश्यक संशोधन समेत गरी कार्ययोजनाको रुपमा निर्णय गरी कार्यान्वयनमा लगिनेछ ।