असिना पानीबाट करोडौं तरकारीबाली तथा फलफू नष्ट

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २०, २०७५

रामपुर,वैशाख २०। पाल्पामा तिन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची आदीमा नष्ट पारेको छ ।

तानसेन नगरपालिका–९ का धुव्रराज भण्डारीले पनि २३ रोपनी जमिनमा लगाएको तरकारी बाली असिनाले नष्ट गर्दा १० लाख बराबरको क्षति पुगेको उनको गुनासो थियो । तानसेन नगरपालिका–७ कुन्सरेका अनिल थापाको २० रोपनीमा लगाएको खुर्सानी, टमाटर, काँक्रा नष्ट हुँदा रू आठ लाख बराबरको क्षति भएको छ । पन्ध्र वर्षयता ठूलो असिनापानी परेकाले यस वर्ष बालीनालीमा ठूलो नोक्सान पुगेको कृषकहरू बताउँछन् ।

जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पुर्याएको छ । तानसेन नगरपालिका–१४ अर्गली बस्ने कृषक निर्मल रानाले २० रोपनी जमिनमा लगाएको काँक्रा, सिमी, करेला असिनाले हिर्काएर नष्ट हुँदा करीब ६ लाख बराबरको नोक्सानी भएको उनले बताए ।

यहाँका किसानले बेमौसमी काँक्रा, करेला, सिमी, लौका, भन्टा, टमाटर, खुर्सानी, बोडी, बन्दा काउली, प्याज र लसुनको व्यावसायिक खेती गर्दै आएका थिए । फल लाग्दै गरेका सुन्तला, आँप, काफलमा पनि असिनापानीले पूर्ण रुपमा नष्ट गरेको छ । अत्यधिक असिनाको कारण व्यावसायिक रुपमा सुन्तलाको खेती गर्दै आएका छहरा अमलावास, भुवनपोखरी, मुझुङ, पालुङ्गमैनादी, बतासे, जल्पा लगायतका किसानको करोडौँ नोक्सान हुँदा कृषक चिन्तित भएका हुन् । भर्खरै खेतबारीमा उम्रेका मकैमा पनि असिनापानीले क्षति पुर्याएको छ ।