काठमाडौं,वैशाख २०। आकाशेपानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि आगामी मनसुन फलदायी बन्ने भएको छ ।
यस वर्षको मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरिएको छ । यो खबर टीका बन्धनले आजको नेपाल समाचार पत्रमा लेखेका छन् ।
‘सास्कोपले हरेक वर्ष मनसुन र हिउँदे वर्षा विश्लेषण गर्दै आएको छ, नेपालको सन्दर्भमा भूगोल र स्थान विशेषका आधारमा औसत वर्षाको मात्रा फरक पर्छ ।’उनले भनिन् । मनसुन अवधिमा मुलुकभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलिमिटर हो भने काठमाडौंको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलिमिटर हो । गत वर्ष पूर्वी र मध्य भेगमा अधिक र औसत वर्षा नाघे पनि मध्यपश्चिम र सुदूरपश्चिमका धेरै भेगमा औसत वर्षा ननाघेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ ।
दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालको वर्षा औसतका हाराहारीमा रहने ठहर गरेको हो । सरदर वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई औसत वर्षा मानिन्छ । सोभन्दा कम र बढी वर्षा भएमा मौसमविद्हरू न्यून वा अधिक वर्षाका रूपमा बुझ्ने गर्छन् ।
सन् २०१४ देखि प्रशान्त महासागरको पूर्वीभेगमा सक्रिय रहेको ‘एलनिनो’ (औसतभन्दा बढी पानी तात्ने) प्रक्रिया सन् २०१७ को अन्त्यसँगै निस्क्रिय भएकाले आगामी मनसुन औसतका हाराहारीमा रहने बताइएको छ । प्रशान्त महासागरको पानी औसतभन्दा बढी चिसो हुने प्रक्रियालाई मौसमविद्हरू ‘ल्यानिना’ का रूपमा बुझ्ने गर्छन् । ल्यानिना शुरु भएमा त्यसले समग्र दक्षिण एसियाकै मनसुनी गतिविधि औसतभन्दा राम्रो हुने वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए । उनका अनुसार एलनिनो अहिले स्थिर अवस्थामा छ ।
अन्यत्र सरदर वर्षा हुने अनुमान गरिएको छ । हिन्द र प्रशान्त महासागरसहित दक्षिण एसियाको मौसमी अवस्था विश्लेषण गरेर सास्कोपका विज्ञले मनसुनसम्बन्धी दृष्टिकोण बनाउने गर्छन् । खास गरी प्रशान्त महासागरको पानीको तापक्रममा आउने उतार–चढावले दक्षिण एसियाली मनसुनको अवस्था चित्रण गर्न सघाउ पुग्ने विज्ञहरू बताउँछन् ।