काठमाडौं, वैशाख २०। नेपाल बुद्धिजिवी परिषद डोल्पाले डोल्पाबाट निर्वाचित सांसद पर्यटन राज्यमन्त्री लाई प्रस्तावित डोल्पा विकास योजना र अवधारणापत्र २०७५ बुझाएको छ ।
सो अवधारणापत्रमा समग्र डोल्पा जिल्लाको विकास र सम्भावनाको बिषय उल्लेख छ ।
अवधारणा पत्र बुझेपछि राज्यमन्त्री अवधारणा पत्र अध्ययन गरेर जतिसक्दो चाँडो कार्यान्वयन गर्न पहल गर्ने बताए ।
उनले भने, ‘डोल्पा जिल्ला पर्यटकीय, सांस्कृतिक, जडिबुटी लगाएत सबै कुराले अथाह सम्भावना भए पनि लाभ लिन सकेको छैन । लाभ लिन नसक्दा जिल्लाको प्रगति हुन सकेको छैन । अब सबै तहतप्का मिलेर विकास र समृद्धि ल्याउनु पर्छ ।’
नेपाल बुद्धिजिवी परिषद डोल्पाका अध्यक्ष अंगबहादुर लामाले ६ महिना लगाएर अवधारणापत्र तयार पारिएको जानकारी दिए । उनले डोल्पाको भौतिक, पर्यटन, सांस्कृतिक, शिक्षालगायत समग्र बिषयलाई अवधारणापत्रमा समेटिएकाले चाँडै कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
त्यस्तै सांसद सत्या पहाडीले भनिन्, ‘यो अवधारण पत्र सबै तहलाई समेटेर बनाएको छ, यो स्वागतयोग्य नै छ । यसका कार्यान्वयनका लागि सक्दो सहयोग गर्ने छु ।’