प्यूठान, वैशाख १९। मंगलबार विहान जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एकजना सुत्केरी महिलाको गएराति मृत्यु भएको छ ।
मंगलबार बिहान जिल्ला अस्पताल प्यूठानमा भर्ना भएकी प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी बर्ष २५ की राधिका धामीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । उनको मृत्य भएलगत्तै आक्रोशित मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।
मंगलबार बिहान सुत्केरी बेथा लागेपछि सुत्केरी हुन अस्पताल आएकी उनको सामान्य अबस्थामा सुत्केरी हुने नसक्ने भएपछि दिउँसो बाह्र बजे अप्रेसन गरि बच्चा निकालिएको थियो । अप्रेसन गरेको करिव सात घण्टा पछि सुत्केरीको मृत्यु भएको बिरामीको आफन्त उर्मिला थापाले बताइन् । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ ।
यता जिल्ला जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले अप्रेसनपछि २४ घण्टासम्म केहि खान नदिनु भन्ने डाक्टरको सुझावलाई वास्ता नगरी आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको बताए ।