बुटवल,वैशाख १९। रुपन्देहीको बुटवलमा पहिलोपटक रोजगार मेला आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, रुपन्देही शाखाको आयोजनामा बुटवल मण्डपमा हुने तीनदिने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
मेलाबाट छनौटमा परेका २० जनाले दक्षता अभिवृद्धि गर्ने तालिमको अवसर प्राप्त गर्ने छन् ।
उक्त सम्मेलनमा कशौधनले रोजगारदाता र रोजगार लिने ब्यक्तिको प्रत्यक्ष भेटघाट मेलामा हुने बताए । मेलामा दुई फरक किसिमका डेक्सहरु राखिने छन् । एउटामा रोजगारदाता र अर्कोमा रोजगार खोज्नेहरुलाई जानकारी दिने डेक्सहरु रहनेछन् । जसले गर्दा पनि रोजगारदाताले आफ्नो आवश्यकताअनुसारको फरक–फरक क्षेत्रमा स्थान पाउने छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सहयोगमा वैशाख २१, २२ र २३ गते मेला गर्न लागिएको हो ।
स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्दै युवाहरुलाई आकर्षित गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष कन्हैयालाल कशौधनले जानकारी दिए ।
यसैगरी मेला अवधिमा रुपन्देहीको उद्योग र दक्ष जनशक्तिको अवस्था चित्रण गर्ने गरी दक्ष जनशक्तिको माग र अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिने कशौधनले बताए ।
पाँच नम्बर प्रदेश उद्योग, पर्यटनका लागिसमेत एउटा अवसर भएको भन्दै यसका लागि जनशक्तिको खाँचो रहेको उनको भनाइ छ ।
महासंघमा आवद्ध जिल्लामा १२ हजार बढी उत्पादनमुलक कृषिजन्य, सेवा, पर्यटन र निर्माण उद्योगहरु आवद्ध छन् । जहाँ करीब एक लाख बढीले रोजगारी पाएका छन् ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले कार्यक्रमको उदघाटन गर्ने महासंघका वरिष्ठ उपाध्यक्ष धु्रव धितालले जानकारी दिए ।