गल्छी गाउँपालिकामा राहत शिक्षक समितिको गठन

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०७५

धादिङ, वैशाख १८ । गल्छी गाउँपालिका भित्र कार्यरत राहत शिक्षकहरुको हक हितका निम्ति काम गर्ने उद्धेश्यका साथ नेपाल राहत शिक्षक समिति गल्छी गाउँपालिका समितिको गठन गरिएको छ ।

गाउँपालिका भित्र रहेका ३८ मध्ये ३४ वटा बिद्यालयमा गरी ८० जना राहत शिक्षक विभिन्न तहमा अध्यापनरत छन् । राहतमा कार्यरत शिक्षकलाई स्थायी प्रकृयामा लैजानु पर्ने, शिक्षा सम्वन्धि हरेक विषयमा राहत शिक्षकहरुको पनि प्रतिनिधित्व हुनु पर्ने, विरामी विदा, संचयकोष लगायतका बिषयमा स्थायी शिक्षकहरु सरह सेवा सुविधा उपलव्ध गराईनु पर्ने, शिक्षा ऐन नियम भित्र राहत शिक्षकहरुको पनि परिभाषा गरिनु पर्ने, बिद्यालयमा शिक्षक वरिष्ठता निर्धारण गर्दा नियुक्ति मितिका आधारमा तहगत रुपमा गर्नुपर्ने, स्थानीय तहमा बिषय बिशेषज्ञ छनौट गर्दा योग्यता क्षमताका आधारमा वर्गिकरण गर्नु पर्ने लगायतका माग अघि सारेर राहत शिक्षक समितिको गठन भएको वताईएको छ ।

‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, राहत शिक्षकको पेशागत सुनिश्चितता’ भन्ने मुल नाराका साथ शनिवार गल्छी गाउँपालिकाको वडा नम्बर ६ स्थित वागेश्वरी माविमा सम्पन्न भएको राहत शिक्षकहरुको भेलाले रामकुमार भुलेजको अध्यक्षतामा १५ सदस्यिय समितिको गठन गरिएको हो । समितिको उपाध्यक्ष महिलामा इश्वरी खतिवडा, उपाध्यक्ष खुल्लामा वाशुदेव खतिवडा, सचिवमा धनमान शाक्य,सह सचिवमा राधा अधिकारी,कोषाध्यक्षमा नवराज तामाङ चयन हुनु भएको छ ।

यसै गरी सदस्यहरुमा टलकबहादुर अधिकारी, भगवती लामिछाने,सिर्जना सिम्खडा, पुरुषोत्तम लामिछाने, गोविन्दप्रसाद अधिकारी, बिष्णुमाया रेग्मी,कविता खतिवडा, शान्ति थापा र हरिहर सुवेदी रहनु भएको छ ।

नेपाल राहत शिक्षक समितिका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको भेला आयोजक समितिका संयोजक सागर लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।