हेटौंडा,वैशाख १८। प्रदेश ३ को सुरक्षा समितिको बैठक हेटौंडामा सुरु भएको छ । बैठकको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गरेका छन् ।
गृह मन्त्रालयले वैशाख ४ गते तयार पारेको ११ आन्तरिक सुरक्षा नीति तयार भएपछि त्यसबारे जानकारी गराउन प्रदेश स्तरीय सुरक्षा गोष्ठी राखिएको हो । गोष्ठीमा प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली सहित काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा गृहमन्त्री थापा, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेल, गृहसचिव प्रेमकुमार राई, नेपाली सेनाका उपरथी शरदकुमार गिरी, प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेबराज जोशी पनि सहभागी छन् ।
बैठकमा सहभागी प्रदेश ३ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको सुरक्षा अवस्था र रणनीतिका बारेमा प्रस्तुतिकरण दिएका थिए । गृहमन्त्रालयले सातै प्रदेशमा प्रदेश स्तरीय सुरक्षा समिति बैठक गर्ने क्रममा प्रदेश ३ को बैठक हेटौंडामा गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले बताए ।