मजदुर दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री, ओलीले

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०७५

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण श्रमजन्यहरुका लागि शुभकामना दिएका छन् ।

नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्रीले यस अवसरमा नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

उनले सबै श्रमिकलाई देशको आर्थिक सामाजिक रूपान्तरणमा पूर्ण क्षमताको सदुपयोग गर्दै संलग्न रहन प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।

प्रधानमन्त्रीले कुनै पनि निर्माणका आधार भनेका श्रमजीवी वर्ग नै भएको जनाउँदै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने आधार पनि श्रमिक वर्ग नै रहेको बताएका छन् ।

प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदुर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको छ । सन् १८८९ देखि हरेक वर्ष मजदुर दिवस मनाउने गरिएको छ ।

परिश्रममा विश्वास गर्ने आम श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशको समग्र विकास र आर्थिक सामाजिक रूपान्तरण सम्भव हुँदैन । त्यसैले वर्तमान सरकार देशमा श्रमको सम्मान गर्ने र सबै प्रकारका श्रम शोषणको अन्त्य गर्ने दिशामा अग्रसर छ,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘श्रम ऐन–२०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको छ । सरकार योगदानमा आधारित सामाजिक सुरक्षा परियोजनाको कार्यकममा सम्पूर्ण श्रमिकलाई समेट्न अग्रसर छ । त्यसक्रममा सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मार्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ ।’