अछाममा खानेपानीको अभाव

Avatar photo
Dhadingpost
बैशाख १८, २०७५

अछाम,वैशाख १८। गर्मीयामसँगै अछामका विभिन्न ठाउँहरुमा
खानेपानीको अभाव भएको छ । धारामा पानी नै आउन छाडेपछि  घन्टौँ    हिँडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ ।

जिल्लाका विभिन्न बजार क्षेत्रदेखि गाउँघरमा खानेपानीको संकट भइरहेको छ ।

केही स्थानीय तहका वडा र विभिन्न बजार क्षेत्रमा पानीको चरम अभावले गर्दा नागरिकको दैनिकी कष्टकर हुनुका साथै महिला तथा बालबालिकालाई सबैभन्दा बढी दुःख भइरहेको कुन्तीबण्डालीका स्थानीय वीरेन्द्र साउदले बताए ।

२०७२ सालमा निर्माण भएको थारखोला कालापानी खानेपानी आयोजनाको पाइपलाइनमा समस्या आउँदा जनता करीब दुई हजार जनता मारमा परेका स्थानीय चन्द्र भण्डारीले बताए। “रु ८३ लाख लागतमा निर्माण भएको खानेपानी आयोजनाले सुतारका ४०० घरधुरीका उपभोक्ता लाभान्वित भएका थिए, अहिले धारामा पानीनै आउन छाडेपछि घण्टौँ हिँडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ,” भण्डारीले भने ।