ह्वाट्स एपका सहसंस्थापक सीईओ कार्यकारी प्रमुख पदबाट राजीनामा दीने

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०७५

काठमाडौं, वैशाख १८। लोकप्रिय म्यासेजिङ सर्भिस ह्वाट्स एपका सहसंस्थापक जान कोउमले कार्यकारी प्रमुख पदबाट राजीनामा दिने भएका छन् ।

‘प्रविधिभन्दा बाहिर आफ्नो रुचिका काममा संलग्न हुन केही खाली समय चाहिएको’ उनले एक पोष्टमा लेखेका छन् ।

यूक्रेनका आप्रवासी कोउमले स्टान्डफोर्डका विद्यार्थी ब्रायन एक्टोनसँग मिलेर सन् २००९ मा ह्वाट्सएप स्थापना गरेका थिए । सन् २०१४ मा यसलाई फेसबुकले १९ अर्ब डलरमा खरिद गरेको थियो । पछिल्लो समयमा फेसबुक र ह्वाट्सएपको सम्वन्ध बिग्रेको थियो । एक्टोनले गत नोभेम्बरमा फेसबुकको आलोचना गर्दै कम्पनी छोडेका थिए ।

कोउमले आफ्नो वक्तव्यमा भनेका छन्, ‘ब्रायन (एक्टोन) र मैले ह्वाट्सएप सुरु गरेको एक दशक भइसक्यो । केही उत्कृष्ट मान्छेहरुसमेतको यो यात्रा एदकमै स्मरणीय रह्यो । तर, मेरो आफ्नै हिसाबले अगाडि बढ्ने समय आएको छ ।’

‘अहिलेको टिम विगतकोभन्दा बलियो छ र यसले धेरै राम्रो नतिजा निकाल्नेछ । म बाहिरै रहेर ह्वाट्सएपको सफलताको कामना गर्नेछु,’ उनले अगाडि लेखेका छन् ।

तर वासिंटन पोष्टमा सोमबार प्रकाशित समाचारअनुसार ह्वाट्सएपको रणनीतिका सम्वन्धमा यसको प्यारेन्ट कम्पनी फेसबुकसँग कोउमको टकराव बढेको थियो । ह्वाट्सएपको व्यक्तिगत डाटा प्रयोग गर्ने फेसबुकको प्रयासमा उनले आपत्ति जनाएका थिए ।