काँग्रेसको नेतृत्व होइन, नेतृत्वको सोंच परिवर्तन हुनुपर्छ -धमला

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १५, २०७५

पोखरा बैशाख १५ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले कांग्रेसको नेतृत्व होइन, नेतृत्वको सोंच परिवर्तन हुनुपर्ने बताएका छन् ।

‘पार्टीमा नेतृत्व परिवर्तनको कुरा उठ्न थालेको बताउँदै धमलाले नेतृत्व भन्दा नेतृत्वको सोंच र दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताए ।’

नेपाली काँग्रेस, धादिङ–पोखरा सम्पर्क सदनद्वारा आयोजित शुभकामना आदान–प्रदान, क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै धमलाले नेतृत्वको सत्ता लोलुपता, अहंता र केन्द्रिकृत सोंचका कारण चुनावमा कांग्रेस कमजोर भएको उनले दावी गरे ।

मुलुकका ७७ वटै जिल्लामा २ वटा कांग्रेस रहकै कारण पार्टी नीति र सिद्धान्त बमोजिम चल्न नसकेको भन्दै उनले यसमा बेलैमा ध्यान नदिने हो भने काँग्रेस झन् विकराल अवस्थामा पुग्ने समेत सभापति धमलाले बताएका थिए ।

नेता धमलाले पोखरामा एक्लो महसूस नगर्न धादिङवासीलाई आग्रह गरे । उनले भने, ‘तपाइँहरू एक्लो हुनुहुन्न र हुनपर्दैन । किनकि तपाइँहरूलाई धादिङ र कास्की दुवै पार्टीको साथ र समर्थन छ । त्यसैले तपाइँहरू निकै भाग्यमानी पनि हुनुहुन्छ ।’

कास्की कांग्रेसका सचिव सुदीपमोहन भट्टराइले बाहिरी शक्ति बलियो भएर भन्दा पनि पार्टीभित्रैको समस्याले कांग्रेस कमजोर भएको स्पष्ट पारे । नीति र सिद्धान्तमा मात्र पार्टी अघि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै उनले अब पार्टीलाई शक्तिशाली बनाउन पद र प्रतिष्ठा भन्दा माथि उठ्नुपर्ने खाँचो औंल्याए । उनले धादिङवासीको पिर, मर्का र सुख, दुःखमा साथ दिन कास्की कांग्रेस सदैव तत्पर रहेको प्रतिवद्धता जनाए ।

नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं. ४ का सभापति मुरारी शर्माले पार्टीभित्र तिक्ततापूर्ण व्यवहार हुन नहुने र स्वच्छ भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कास्की कांग्रेसका पूर्व सचिव तथा अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले नेतृत्वको विरोध भन्दा उपयुक्त बाटो रोजेर पार्टी अघि बढाउनुपर्ने खाँचो औंल्याए ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले पार्टीको कमिकमजोरी र अघि बढ्ने बाटो तय गर्न उपल्लो तहदेखि तल्लो तहसम्म बहस आवश्यक भएको बताए ।

सदनका सभापति लालप्रसाद पाठकको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपसभापति यादुप्रसाद ढकाल, सचिव माधव लम्साल, वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, सल्लाहकार मोहन पण्डित, हरि पन्त, नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चका सचिव योगप्रसाद सापकोटा, नेपाली कांग्रेस पोखरा–१७ का वडासभापति देवराज आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रममा सदन तथा पार्टीका लागि महत्वपूर्ण योगदान दिने कृष्णकुमार श्रेष्ठ, ढुण्डिराज मिश्र, कमलबहादुर पाण्डे र सुब्बाकुमार श्रेष्ठलाई सम्मान गरिएको हरि पन्तले जानकारी दिए  ।