भारतिय सुरक्षाकर्मीको दादागिरी

Avatar photo
Dhadingpost
बैशाख १४, २०७५

धनगढी वैशाख,१४। कैलालीको पुनर्वास नगरपालिका–९ का बासिन्दाले जंगली जनाबर नियन्त्रणका लागि विद्युतीय तारबार प्रयोग गर्न खोज्दा भारतिय (एसएसबी) ले अवरोध गरेको छ ।

गत वर्ष पनि पुनर्वासको आनन्द बजारमा एसएसबीले अवरोध गर्दा तनाव बढेको थियो । विवादको क्रममा एसएसबीले गोली चलाउँदै स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो ।

१९५ नम्बर सीमास्तम्भ नजिक तारबार गर्न खोज्दा एसएसबीले अवरोध पुर्‍याएको वडाध्यक्ष नारायण जैशीले जानकारी दिए । सो क्षेत्रमा विद्युतीय तारवार लगाउने पूर्वसहमति भएपनि बिहीबार एसएसबीले पुनः अवरोध गरेको अध्यक्ष जैशीले बताए ।

विवाद नहोस् भनेर पूर्वसहमति नै गरी दशगजा क्षेत्रबाट करिव ५.७ मिटर वरैबाट तारबार गर्न खोज्दासमेत एसएसबीले अवरोध गर्‍यो,’ जैशीले भने ।

स्थानीयबासीले गाडेका पोलहरु हतियारधारी एसएसबीले उखेलेर फालेको छ भने तारहरुलाई काटिदिएको छ ।

यो घटना भएको एक वर्ष पूरा हुँदासम्म पनि नेपाल(भारत) सीमा विवाद समाधान हुन नसक्दा नेपालीहरुले पटक पटक एसएसबीको ज्यादती सहनुपरेको स्थानीय बताउँछन् ।