विश्व शिक्षक संगठनको टोलीद्वरा अध्यक्ष, दाहाल सँग भेटवार्ता

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १४, २०७५

काठमाडौं,वैशाख १४। विश्व शिक्षक संगठनको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार भेटवार्ता गरेको छ ।

संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीले प्रचण्डसँग भेटवार्ता गरेको हो ।

विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९ औं विश्व सम्मेलन गर्दैछ । सोही सम्मेलनको तयारीको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले प्रचण्डलाई भेटेका हुन् ।

साम्राज्यवाद विरोधी शिक्षकहरुको उक्त संगठनका ६ जना प्रतिनिधि भेटघाटमा सहभागी थिए । जसमा १ जना नेपालका, ३ जना भारतका र २ जना बंगलादेशका थिए ।

सो अवसरमा प्रचण्डले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताए । आफू पनि शिक्षक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताए ।

विश्व शिक्षक संगठनकी अध्यक्ष खानमले नेपालमा शिक्षकहरुको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।