रौतहट (सुकदेव चोक) वैशाख,१३ — गौर–शिवनगर खण्डको यमुनामाई गाउँपालिका–१ राजमार्ग छेउमा रहेको सञ्चालित शिवदर्शन सेन्ट्रल अस्पतालमा मंगलबार अनौठो दृश्य देखियो ।
जिल्लामा पछिल्लो समय निजी अस्पताल खोल्ने होडबाजी नै चलेको छ । पूर्वपश्चिम नहरको डिममै रहेको अस्पतालको बेथिति हेर्दा कारबाही गर्ने निकाय किन मौन भन्ने प्रश्न सहजै गर्न सकिन्छ । अस्पताल सञ्चालन गर्न चाहिने मापदण्ड पूरा नगरी जिल्ला जनस्वास्थ्य कार्यालयले हाचुवाका भरमा अनुमति दिएको पाइएको छ ।
अस्पतालमा नाबालक छोरा उपचार गराउन आएकी एक महिलालाई भर्याङबाट तल उत्रनलाई धौधौ पर्यो । बालकलाई काँधमा राखेर भित्ता समात्दै उनी तल झरेको दृश्य निकै मार्मिक थियो ।
स्थानीय विनोद बैठाको घर भाडामा लिएर २०७२ जेठ २८ गतेदेखि सञ्चालन गरिएको सेन्ट्रल अस्पतालको बिरामीलाई एमरजेन्सीसम्म पुर्याउने भर्याङसमेत गतिलो छैन । ‘अस्पताल जस्तो संवेदनशील संस्थाको भर्याङको हालत यस्तो छ, काँधमा बच्चा राखेर तल उत्रँदै गरेकी रुक्सानाले भनिन्, ‘बल्लबल्ल माथि चढियो, उत्रने बेला उस्तै सास्ती खेप्नुपर्ने ।’
जिल्लामा खुलेका अधिकांश निजी अस्पतालको आफ्नो छुट्टै भवन छैन । साँघुरा घरमा जबरजस्ती अस्पताल चलाइएको छ । यस्तोमा अचानक आइपर्ने प्राकृतिक विपतमा बढी जोखिम हुने सरोकारवाला बताउँछन् ।
शिवनगरको आनन्द पोलिक्लिनिकमा घरको भर्याङमुनि चिकित्सक रामप्रगास यादवले बिरामीको जाँच गर्दै गरेको भेटियो । ठाउँको अभावले भर्याङ तल बिरामीको जाँच गर्नुपरेको उनले सुनाए । १५ शय्याको यो क्लिनिकले पनि मापदण्ड पूरा गरेको छैन । क्लिनिकमा नशाका बिरामी धेरै आउँछन् । उनीहरूको एकुपन्चर प्रविधिले उपचार हुने चिकित्सक यादवले बताए ।