डडेल्धुरा वैशाख,१३ । गर्मी मौसम शुरु भएसँगै डडेल्धुरा लगाएत अन्य अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छ ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही वडामा खानेपानीका मुहान सुक्न थालेका छन् । जलवायु परिवर्तनका साथै विकासको नाममा जिल्लाका ग्रामीण क्षेत्रमा हेभी इक्युपमेन्ट (डोजरं) को प्रयोग गरी सडक निर्माण हुने क्रम बढेसँगै पानीका मुहान सुक्न थालेका हुन् ।
केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाइ छ ।
खानेपानीका मुहानमा पानीको सतह कम भएसँगै जिल्लामा निर्माणका लागि सर्वे भएका केही खानेपानी योजनाको निर्माण कार्य बन्द भएको छ । खानेपानीको अभावसँगै स्थानीय बासिन्दा घण्टौँको दूरीबाट खानेपानी ल्याएर खान बाध्य भएका छन् ।
समयमै खानेपानीका मुहानको संरक्षण नगर्ने हो भने भविश्यमा खानेपानीको हाहाकार हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । खानेपानीका मूल संरक्षण नहुने हो भने जिल्लाका विभिन्न ठाउँमा पानी अभाव हुने जनाएको छ ।