सवारी दुर्घटना तिब्र गतिमा बढ्दै

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १३, २०७५

काठमाडौं वैशाख,१३ । रुकुम र स्याङ्जालगायत जिल्लामा सवारी दुर्घटना हुँदा उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ रिस्तीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । प्रहरीका अनुसार, ग ३ प ८८६२ नम्बरको मोटरसाइकलमा सवार कमानसिंह रानाको दुर्घटनामा ज्यान गएको हो । ४९ वर्षीय राना जनहित माध्यमिक विद्यालय, हटियाको शिक्षक हुन् ।

त्यसैगरी, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ मा बुधबार साँझ रा ४ प ३२७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय कृष्ण पुनको मृत्यु भएको छ । नियन्त्रण गुमाएर मोटरसाइकलसँगै सडकबाट करिब १५ किलोमिटर तल खसेका पुनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यही दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने रुकम मुसिकोट नगरपालिका–१४ का ३५ वर्षीय गंगाराम ददेल घाइते भएका छन् । प्रहरीका अनुसार, उनको अहिले नेपालगञ्ज अस्पतालमा उपचार भइरहेको छ ।

ट्राफिक प्रहरीका अनुसार सुनसरीको रामधुनी–१ मा गएराति रोकी राखेको जीपमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक देवेन्द्रप्रसाद चौधरी घाइते भएका छन् । को ४ प ५७४० नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई स १ ज ४८२ नम्बरको जीपले ठक्कर दिएको र उनी घाइते भएको प्रहरीले जनाएको छ ।

यता रुपन्देहीको सियारी गाउँपालिका १ मा भएको मोटरसाइकल दुर्घटनामा ३२ वर्षीय मुक्तिनाथ यादव घाइते भएका छन् । प्रहरीका अनुसार, भीम अस्पताल, भैरहवामा उपचाररत यादवको अवस्था गम्भीर छ ।

दोलखाको बिगु गाउँपालिका–४ लादुकमा बुधबार साँझ बा ३५ प ६०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय सुशीलराज भण्डारी घाइते भएका छन् । घाइते भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।