काठमाडौं वैशाख,१२ । सरकार करदाताले आफ्नो बैंक खाताबाट विद्युतीय माध्यममार्फत राजश्व तिर्न सक्ने प्रणालीको सुरुआत गरेको छ ।
अब घरमा बसी–बसी मोवाइल वा कम्प्युटरबाटै सरकारलाई राजश्व तिर्न सकिने भएको छ । सरकारले करदाताले आफ्नो बैंक खाताबाट विद्युतीय माध्यममार्फत राजश्व तिर्न सक्ने प्रणालीको सुरुआत गरेको हो ।
हालका लागि करदाताले एक लाख रुपैयाँसम्मको कर विद्युतीय माध्यमबाट तिर्न सक्नेछन् । आगामी साउनदेखि भने जतिसुकै ठूलो कारोबार पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने गरी प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आफ्नो नियुक्तीको पहिलो निर्णय नै १ वैशाखदेखि खर्च तथा राजश्वतर्फको सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने निर्णय गरेका थिए । यो व्यवस्था कार्यान्वयनका लागि मन्त्रालयले कार्यदल नै गठन गरेको थियो ।
करदाताले सरकारलाई बुझाउनुपर्ने सबै प्रकारका कर, शूल्क वा दस्तुर उक्त विद्युतीय प्रणालीबाट बुझाउन सक्नेछन् । यो प्रणालीबाट गरिने कारोबार पूर्ण सुरक्षित रहने प्रतिवद्धता मन्त्रालयले व्यक्त गरेको छ ।
सरकारले एक दशकअघि नै विद्युतीय भुक्तानी प्रणाली अवलम्बन गर्न सैद्धान्तिक रुपमा स्वीकार गरेको हो ।