बुटवल वैशाख,१२ । प्राकृतिक चिकित्सा पद्दतिबाट आवासीय उपचार सेवा दिने गरी गुराँस अस्पताल प्रा.लि. सञ्चालनमा आएको छ ।
अपांगमैत्री र भूकम्पको जोखिम नहुने प्रि–फ्याब प्रविधिबाट बनेको अस्पतालले नेपालमै पहिलोपटक कोलोन हाइड्रो थेरापी र एक्सरसाइज थेरापी मेसिन भित्राएको प्रबन्ध निर्देशक नारायण भुसालले जानकारी दिए । ३५ बेड बहिरंग र १५ बेड अन्तरंग गरी ५० बेड रहेको उक्त अस्पतालमा अक्युपन्चर, इलेक्ट्रो फिजियोथेरापी, माटो स्नान, अन्डरवाटर हाइड्रो डिलक्स मसाज, स्पाइनल स्प्रे, हट स्टोन मसाज, पोटली मसाज, योगा थेरापी, मेनुपुलेसन, अक्युप्रेसर आदि पद्दतिबाट उपचार गरिने अस्पतालका डा.सुजन कंडेलले जानकारी दिए ।
यस प्रकारको अस्पताल नवलपरासीको रजहरमा छ । नवलपरासी पश्चिममा यस्तो अस्पताल यो नै पहिलो भएको अध्यक्ष सरस्वती भुसाल बताउँछिन् ।
अस्पतालले बिरामीलाई औषधि सेवनका लागि सिफारिस नगरी शरीरमा रहेका विजातीय तत्वहरुलाई प्राकृतिक उपचार विधिबाट बाहिर निकालेर रोग निको बनाउने अस्पतालका डा.सागर पाण्डेले दाबी गरे । प्रालिले ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
प्राकृतिक चिकित्सा क्षेत्रमै संलग्न व्यवसायी र चिकित्सक गरी पाँच जनाको सात करोड २५ लाख रुपैयाँ लगानीमा बुटवल–१२, ढवाहामा चार कट्ठा जग्गामा अस्पताल सञ्चालनमा आएको हो ।