सडक क्षेत्र मिचेर बोनेको तीन सय बढी संरचना भत्किाइँदै

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १२, २०७५

बुटवल वैशाख,१२ । सडक क्षेत्र मिचेर बनेका बुटवलका तीन सय बढी घरहरु भत्किने भएका छन् ।

पटक–पटकको आग्रह अटेर गरेपछि बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले वैशाख ४ गते डोजर चलाउन थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए । एक हप्ताको समय मंगलबार नै सकिएको छ ।

एक दर्जन बढी घरधनीहरुले सडक क्षेत्रमा बनेका घर–संरचना आफैं भत्काउन शुरु गरिसकेका छन् ।

बाँकी घरहरुमा बुधबार बिहान ११ बजेदेखि डोजर लगाएर भत्काउने तयारी भइरहेको बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले जानकारी दिए ।

‘उहाँहरुले मागेको एक हप्ताको समय हिजो नै सकिएको छ, १०–१२ जना घरधनीले आफैं भत्काउन पनि शुरु गर्नुभएको छ, अटेर गर्नेहरुका हकमा आयोजनाले ११ बजेदेखि डोजर लगाएर भत्काउने तयारी गरिरहेको छ,’ मिश्रले भने, ‘अब सडक विस्तार रोकिँदैन ।’

३० महिनामा सडक विस्तार सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ । यसको कुल लागत ४२ करोड रुपैयाँ अनुमान गरिएको छ । बुटवल–बेलहिया ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड भुक्तानी दिइसकेको आयोजनाले जनाएको  हो ।