नागरिक समाजको सहकार्यमा अवसर धेरै, चुनौती कम

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ११, २०७५

धादिङ, बैशाख ११ । जिल्ला समन्वय समिति धादिङका उप–प्रमुख बिन्दा बराम नेपालीले नागरिक समाजले स्थानीय सरकारलाई शुशासित पारदर्शि बनाउन मद्दत गरिरहेको बताएकी छिन् ।

औंपोचारिक क्षेत्र सेवा केन्द्रद्वारा युएसएआइडिको सहकार्य र एफएचआइको सहकार्यक्रमा मंगलबार भएको नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रमका यस्तो बताएका हुन् ।

नागरिक समाजले सरकारलाई घचघच्यार्इ रहेकोले गर्दा स्थानीयतहको सरकारले गर्ने काममा चेक एण्ड व्यालेन्स भर्इ सहयोग पुगेको बताइन् ।
जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्णप्रसाद अर्यालले सकारात्मक सोचका साथ स्थानीय सरकारले काम गर्ने बताउँदै स्थानीय श्रोतको उच्चतम प्रयोग र परिचालन गर्न सके सरकारले गाउँमा जनताको आत्मसात गरेको ठहरिने बताएका छन् ।

नागरिक समाजका अगुवा एवं मानवअधिकारकर्मी रमेश अधिकारी र नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्माले स्थानीय सरकार र नागरिक समाजसंगको सहकार्यका अवसर र चुनौती बारे कार्यपत्र प्रस्तुत गरे ।
स्थानीय सरकारसंग नागरिक समाजले सहकार्य गर्दा स्थानीयका तहका लागि आवस्यक मानवीय श्रोत नागरिक समाजले उपलब्ध गराउन सक्ने, स्थानीय तहमा निर्णयको अधिकार भएको, स्थानीय व्यक्तिहरुनै स्थानीय निकायका प्रतिनिधिभएको, स्थानीय स्रोत साधन व्यवस्थापन र परिचालन गर्न सहज हुने, नागरिकहरुको पहु‘च बढेको, अनुगमन मुल्याकंन र नियमनकारी निकाय स्थानीय सरकार रहेको र स्थानीय सरकार र नागरिकहरुको बीचमा पुलको भुमिका निर्वाह गरेमा अवसरको रुपमा परिण गर्न सकिने कार्यपत्रमा उल्लेख छ ।

स्थानीय सरकारका लागि स्थानीय तहका लागि आवस्यक निति नियमहरु बन्न नसक्नु, व्यक्तिको तोक आदेशमा काम गर्ने भएकोले दुरुपयोग हुन सक्ने, श्रोतको पहिचान, परिचालन हुन नसक्दा समस्या उत्पन्न भएको, राजनीतिक सहिष्णुतामा कमी आएका कारण दलिय आँखाबाट विकास न्यायको विषयहरु हेरिँदा नागरिकले समस्या भोग्नु परेको, श्रोतहरुको न्यायोचित बाँडफाडको समस्याले गर्दा कुनै सरकारले प्रगति गर्ने र कुनै सरकारले प्रगति गर्न नसक्ने अवस्था आएको तर्फ कार्यपत्रमा चुनौती औल्याइएको छ ।

नागरिक समाजले अपाङगता भएका व्यक्तिहरुको अधिकार स्थापित गराउन लाग्नु पर्ने, वडा तहमा गम्भीर अपराध भएको विषयमा समेत छलफल गराइ मुद्दाहरु मिलाइएकोले फौजदारी अपराधको मुद्दामा गाउँतहमा छलफलमा जान नहुनेमा सचेत पार्नु पर्ने, भूकम्प पीडितको समस्या समाधानमा चासो कम भएकोले नागरिक समाजको चासो बढ्नु पर्ने, पछाडी पारिएका समूह, लिंग, जात, आदीको संरक्षण र सुरक्षाका लागि गाउँतहमा योजना निर्माण तहमा समेत निति बनाएर कार्यान्वयन गर्नु पर्ने, नागरिक समाजले वकालत, सवालको उठान र समस्या समाधानको कार्यान्वयनमा जोड दिनु पर्नेमा नागरिक अगुवाहरुले सवाल उठाएका थिए ।

कार्यक्रममा अधिवक्ता तोलाकुमारी पाठक, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालका महासचिव राधिका सापकोटा, नेपाल पत्रकारमहासंघ धादिङका संस्थापक अध्यक्ष सीताराम वर्मा, दलित सेवासंघका अध्यक्ष श्यामबहादुर मगराती, फियान नेपालका राजेन्द्र बस्नेत, ट्रान्स परेन्सीका सानुबाबु तिमल्सीना, दलित अगुवा रामबहादुर नेपाली, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालका अध्यक्ष गायत्री खतिवडा, अपांगअधिकारकर्मी ज्ञानेन्द्र लम्साल लगायतले नागरिक समाजको भूमिका बढाउँदै नागकिको समस्या समाधान गर्न जोड दिएका थिए ।