काठमाडौं वैशाख,११ । विश्व बजारमा डलरको मूल्य बढ्न थालेपछि नेपालीहरुले महंगोमा डलर किन्नु पर्ने भएको छ । अन्तराष्ट्रिय बजारमा डलरको भाउ सात हप्ता यताकै महंगो भएको छ ।
सोमवार नै बैंकहरुले प्रतिडलरको एक सय ६ रुपैयाँ २० पैसामा कारोबार गरिरहेका थिए । तीन महिनाको अवधिमा डलर चार रुपैयाँ बढिले महंगो भएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तयि संस्थाको लागि डलर किनबेच गर्न दिने सन्दर्भ मूल्य अनुसार एक डलरको लागि नेपालीले एक सय ६ रुपैयाँ ६७ पैसा हाल्नु पर्ने भएको हो । बैंक तथा वित्तीय संस्थामा डलर किक्री गर्दा भने एक सय ६ रुपैयाँ सात पैसा पाइनेछ ।
पाउन्ड स्टर्लिङको भाउ पनि डलरको तुलनामा घटिरहेको छ । विनिमय दर पाँच हप्ताकै उच्च भएको छ । डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने गर्छ । विशेष गरि रेमिट्यान्सको रुपमा डलर भित्र्ने भएकोले विनिमय दरको कारण धेरै रेमिट्यान्स भित्रिएको देखिने गर्छ ।
अर्को तर्फ बढि मूल्य पाउनेभएपछि विदेशमा रहेकाले पनि यस्तो समयमा पैसा पठाउने प्रवृत्ति बढ्ने गर्छ । तर, व्यापार घाटा बढ्ने, महंगी बढ्ने जस्ता नकारात्मक प्रभाव पनि रहन्छ ।
अन्तराष्ट्रिय बजारमा सोमवार डलरको भाउ सात हप्ता यताकै महंगो भएको छ । अमेरिकी सरकारले जारी गर्ने १० वर्षे ऋणपत्रको व्याजदर तीन प्रतिशतले वृद्धि गरेपछि डलरको भाउमा पनि प्रभाव परेको हो ।