दोलखा वैशाख,१० — स्तरउन्नति गर्ने क्रममा अधकल्चो छाडेर निर्माण व्यवसायी बेपत्ता भएपछि लामोसाँघु–जिरीे सडकको अवस्था जर्जर भएको छ ।
उक्त खण्डमा भएको कामको अन्यौलताले लामोसाँघुदेखि दोलखा सदरमुकाम चरिकोटसम्मकै ५५ किलोमिटर सडक खाल्डाखुल्डी, हिलो र धुलाम्मे भएको छ । उक्त सडक अन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्म २५ किलोमिटर सडक खण्डको निर्माण गर्ने जिम्मा लिएको सुनौलो खिम्ती निर्माण कम्पनी एक महिनादेखि बेपत्ता भएको छ ।
भारतीय एक्जिम बैंकको लगानीमा सडक चौडा बनाउन खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लिएको कम्पनी काम छाडेर बेपत्ता भएको सडक विभाग अन्तर्गतको आयोजना प्रमुख केदार नेपालले बताए। खाडीचौरदेखि मुढेसम्म सुनौलो खिम्ती मुख्य जिम्मेवार बनेर भारतीय निर्माण कम्पनी सिमान्चल र नेपाली कम्पनी गौरीपार्वतीले साझेदारीमा काम गर्दै थिए।
करिब ५० प्रतिशत कार्य सम्पन्न गरेपछि सुनौलो खिम्ती गायब भएको आयोजनाको भनाइ छ। ‘न निर्माणस्थलमा भेटिन्छ, न फोन उठ्छ न त सम्पर्क गर्न नै आउँछ,’ नेपालले भने, ‘उक्त कम्पनीलाई चाँडो काम सक्न चेतावनीसहित १० पटक पत्राचार गरिसक्दा पनि काम अघि बढेन।’
कम्पनीले अटेरी गरेपछि आयोजनाले अन्तिमपटक यही अप्रिल ३० तारिकभित्र काम सुरु नगरे कालोसूचीमा राख्ने र ठेक्का रद्द गर्ने प्रकृया किन सुरु नगर्ने भन्दै पत्राचार गरेको छ। उक्त पत्रले सुनौलो खिम्तीका साथै भारतीय कम्पनी सीमान्चल र गौरीपार्वतीलाई समेत धक्का लाग्छ।
सुनौलो खिम्तीले काम नगरे सीमान्चल र गौरीपार्वतीले काम सम्पन्न गर्ने जिम्मेवारी लिनुपर्छ। उक्त दुई कम्पनीसँग पनि आयोजनाले छलफल चलाइरहेको बताइएको छ।
मुढेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडकको केही खण्डमा सुनौलो खिम्ती पनि साझेदार रहेकाले काममा अवरोध आएको थियो। सुनौलो खिम्ती करको विवादमा तानिएकाले केही खण्डको साझेदारीका कारण सीमाञ्चल र शंकर मालीको पनि करोबार रोकिएको थियो।
यसै विषयमा प्रतिकृया लिन खोज्दा सुनौलो खिम्ती सम्पर्कमा आएन। यसअघि उक्त कम्पनीले कान्तिपुरसँग आफूले पाएको काम सम्पन्न गर्ने बताएको थियो।