नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यशैलीबाट असन्तुष्ट

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १०, २०७५

काठमाडौं वैशाख,१०। समयमा कांग्रेसको भातृ संगठन नेविसंघमा भने आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । केन्द्रीय समिति बैठकमा विगतका गल्ती सुधार्दै पार्टीलाई एकढिक्का बनाउने बहस चलिरहेको छ ।

सोमबार नै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले विरोध प्रदर्शन पनि गर्दैछ ।नेविसंघका उपाध्यक्षहरु प्रकाश राना, खडकबहादुर डाँगी, उर्मिला थपलिया, नवीन राई र सागर परियारले पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र लेख्दै नेविसंघको १२ औं महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन् ।यी मागहरु २४ घण्टाभित्र पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यशैलीबाट असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाउँदै कार्यशैली नसच्चिए समानान्तर गतिविधि गर्ने चेतावनी दिएको छ ।

हेर्नुहोस् पार्टी सभापति शेरबहादुर देउवालाई पठाइएको ध्यानाकर्षण पत्र

महरले महाधिवेशनको २० महिनासम्म विवादित ११ जिल्लाको अधिवेशन नगरेको र संगठनलाई स्वेच्छाचारी ढंगले सञ्चालन गरेको आरोप लाग्दै आएको छ । विवादित कास्की लगायतका जिल्लामा तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने भए पनि नेविसंघ अध्यक्ष महरले त्यसको बेवास्ता गरेको असन्तुष्ट पक्षको आरोप छ ।

कतिपय जिल्लामा मनोमानी ढंगले पत्र पठाउँदै प्रतिनिधि तोक्ने र केन्द्रीय समितिमा आफूखुसी मनोनित गर्ने आरोप पनि अध्यक्ष महरलाई लाग्दै आएको छ ।

 

नेपाल विद्यार्थी संघ जस्तो ऐतिहासिक र लोकतान्त्रिक संगठनलाई तानाशाही शैलीमा अगाडि बढाइएको कार्य मान्य नहुने पार्टी सभापति देउवालाई पाँच उपाध्यक्षले लेखेको ध्यानाकर्षण पत्रमा छ ।