जीप दुर्घटनामा थप २ जनाको मुत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ७, २०७५

 

डोटी वैशाख, ९ । डोटी जिल्लाको शिखर नगरपालिका– ३ मा शनिबार भएको जीप दुर्घटनामा थप २ जनाको मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले शिखरनगरपालिका–३, जोरागाउँकी ३५ वर्षीया झाक्री भुल र सोही स्थानकी २८ वर्षीया धौली भुलको ज्यान गएको जानकारी दिए ।

डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग १ ज ५२७५ नम्बरको जीप शनिबार शिखरनगरपालीको ३ छाईपानीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय बालक सुरज भुलको घटना स्थलमै मृत्यु भएको थियो ।

धौलीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो भने भुलको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार धौलीको शव सेती अञ्चल अस्पताल र झाक्रीको कोहलपुर मेडिकल कलेजमा राखिएको छ ।

जीप सडक खण्डबाट ५० मिटर तल खसेको छ । घटनास्थल सदरमुकामबाट २५ किलोमिटर टाढा छ ।

अन्य घाईतेहरुको शैलेश्वरी अस्पताल दीपायलमा उपचार भइरहेको डीएसपी सिंहले जनाकारी दिए ।