क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ७, २०७५

सिन्धुपाल्चोक वैशाख, ७ । जिल्लाको मेलम्ची नगरपालिका–१३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले जानकारी दिए ।

घटनापछि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । शव परीक्षणको लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताए ।

गंगा इन्द्रावती क्रसरले खनेको कुलोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । इन्द्रावती नदी किनारमा क्रसरले बनाएका असंख्य खाल्डामध्येको एउटामा बालकको मृत्यु भएको स्थानीयले बताए ।

नियमविपरीत नदीमा सिधै स्काभेटर प्रयोग गरी असंख्य खाल्डो बनाएको देख्दा पनि स्थानीय सरकारले अनुगमन नगर्नु तथा कारबाही अगाडि नबढाउनुले पनि मोटो रकम लिने गरेको स्थानीयले आरोप लागाएका छन् । स्थानीय सञ्चारकर्मीले पटकपटक अवैध उत्खनन भएको ध्यानार्कषण गराउँदासमेत मेलम्ची नगरपालिकाले कुनै चासो दिएको देखिँदैन । इन्द्रावती नदी किनारमा रहेका आधा दर्जन क्रसरले बनाएको खाल्डोले नदीको स्वरुप नै कुरुप बनाएको छ । यसअघि पनि क्रसरले बनाएको खाल्डोमा परी चारभन्दा बढी बालबालिकाले ज्यान
गुमाइसकेका छन् ।

 

 

मेलम्चीको इन्द्रावती नदी किनारमा आधा दर्जन क्रसर रहेकामध्ये कुनै पनि मापदण्डभित्र पर्दैनन् । क्रसर सञ्चालनको लागि कानून संवत तोकिएको नियमबिनानै क्रसर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल सरकारले क्रसर सञ्चालनको लागि राजमार्गबाट ५०० मिटर टाढा, खोला किनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुुनुपर्ने मापडण्ड तोकेको छ । अहिले इन्द्रावती नदी किनारमा सञ्चालन भएका क्रसर तोकिएको मापडण्ड विपरीत निर्वाधरुपमा चलिरहँदा पनि स्थानीय सरकार तथा जनप्रतिनिधि मौन बसेका छन् ।