सिराहा बैशाख,५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पुस्तक र पोशाक वितरण गर्दै सिरहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएका छन् ।
कल्याणपुर नगरपालिका ११ का दिनेशकुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्रीले स्थानीय रामदुलारी माविमा भर्ना गराएका हुन् ।
विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए ।
यसअघि बैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए ।
उनले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।