नवलपरासी चैत्र,२९ ।आज विहान ८ बजे नवलपरासी बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा बिहान जीप खस्दा ८ जना गम्भीर घाइते, एकको ज्यान गएको छ ।
बुलिंगटार गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर राना मगरले दिएको जानकारी अनुसार, बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका– ५ र ६ को बीचमा पर्ने सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट जिप खस्दा घटनास्थलमा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।
मृतकको सनाखत हुन सकेको छैन ।सो स्थानमा हालसम्म प्रहरी पुग्न नसकेको र स्थानीयले उद्धार कार्यमा सहयोग गरिरहको अध्यक्ष राना मगरले बताए । घटनास्थल दलदलेबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पहाडको खोंचमा रहेकाले उद्धारमा कठिनाई भइरहेको वडाध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिए ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।