काठमाडौं चैत्र,२६ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने रंगशालाको नाम भने लर्ड वुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम नै रहने छ ।
भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, स्वीमिङलगायत धेरै खेलहरुका लागि सुविधायुक्त रंगशाला हुनेछ,’ उनले भने, ‘साथै आउटडोर खेलहरु पनि समेट्नेछौं । मैदानको उपलब्धताका आधारमा सम्भवतः फुटबल ग्राउन्ड पनि हुनेछ ।’नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धेरैजसो इन्डोर तथा आउटडोर खेलहरु अटाउने गरी स्पोर्टस् भिलेजको अवधारणामा रंगशालाको निर्माण गरिने धुर्मुसले बताए ।
क्रिकेटका साथसाथै सबै विधाका खेलकुदलाई सुविधायुक्त रंगशालाको दुख भएकाले यो निर्णय लिइएको धुर्मुस बताउँछन्। ‘सुरुमा क्रिकेट रंगशालाको मात्रै सोच बनाएका थियौं, तर बहुउपयोगी बनाउन सके अरु खेलहरुमा पनि योगदान पुग्न सक्ने भनेर हाम्रो टिममा छलफल भयो,’ उनले भने । बाहिरबाट पनि धेरैले उनलाई बहुउपयोगी रंगशाला निर्माणको लागि सुझाव दिएका थिए ।
धुर्मुसको टिमले रंगशाला कहाँ बनाउने भनेर निर्णय सार्वजनिक गरेको छैन । पछिल्लो पटक खेलकुद मन्त्रालयको सुझावमा धुर्मुसको टोली पोखरामा जग्गा हेरेर फर्किएको थियो । तर, पोखरामा अत्यधिक वर्षा हुने कारणले त्यहाँ क्रिकेट रंगशाला बनाउनु उपयुक्त नहुने उनलाई धेरैले सुझाव दिएका छन् ।
अरु विधाका खेलाडी पनि आकर्षित बने
पछिल्लो पटक फुटबलर अनिल गुरुङ र तेक्वान्दो खेलाडी दिपक विष्ट उनको अभियानमा जोडिएका छन् । दुवैले धुर्मुसलाई भेटेर रंगशाला निर्माणमा आफूहरुको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।
धुर्मुसले आफूहरुको अभियानमा जिम्मेवार र विज्ञ व्यक्तिहरु जोडिदै र टिम ठूलो हुँदै गएकाले हौसला बढेको बताए । धुर्मुसको रंगशाला निर्माण अभियानमा क्रिकेट मात्र नभएर अन्य विधाका खेलाडीहरुलाई पनि आकर्षित गरिरहेको छ ।