धादिङ चैत्र १८ । धादिङको पहिचान दिने प्राकृतिक सम्पदा मध्य पर्ने त्रिशूली नदी महोत्सव नस्थगित भएको छ ।
त्रिशूली किनारका र्याफटिङ गराउने व्यवसायी र गाइडहरुलाई वालुवा व्यवसायी र स्थानीय राजनीतिकर्मीहरुबाट धम्की आएसंगै उनीहरुले महोत्सवका लागि डुंगा र गाइड उपलब्ध गराउने नमाने पछि आयोजकहरुले बाध्य भएर स्थगित गर्नुपरेको बताइएको छ ।
नागरिकस्तरको ‘त्रिशूली बचाउ महाअभियान’को विगत २ वर्षदेखिको कठिन परिश्रम पछि त्रिशूली नदी सङ्लो भएर बग्न थालेसँगै यो नदी जलयात्राको लागि उपयुक्त भएको सन्देश दिन ‘त्रिशूली नदी महोत्सव’ को आयोजना गरेको थियो । आयोजकहरुले ३० वटा डुंगाका लागी स्थानीय ‘त्रिशूली रिभर साईड रिसोर्ट’बाट १५ वटा र ‘बेनीघाट रिसोर्ट’बाट १० वटा डुंगाका लागी ५० हजार रकम पेश्की समेत दिएका थिए ।
महोत्सव अन्तिम समयमा स्थगित गर्नु पर्ने अवस्था आएपछि आयोजकहरुले नेपाल र्याफटिङ एशोसियसनका अध्यक्ष नीम मगरलाई समेत गुहारेका थिए । अध्यक्ष मगरले नाराका स्थानीय सदस्यहरुलाई महोत्सव नबिथोल्न आग्रह गर्दा समेत स्थानीय व्यवसायीहरुले राजनीतिक धम्कीका कारण डुंगा दिन नसकिने बताए सँगै महोत्सव स्तगित भएको थियो ।