धादिङ चैत्र १८ । सरकारले सरकारी विद्यालयमा पढ्ने कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरणका लागि सवा २ अर्ब २२ करोड अनुदान स्थानीय तहमा पठाएको छ ।
शिक्षा विभागले अन्तरनिकाय वित्तीय हस्तान्तरण अन्तर्गत संघीय मामिला मन्त्रालय मार्फत स्थानीय तह हुँदै विद्यालयमा २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ पठाएको हो ।
“विभागले शैक्षिक सत्र २०७५ मा भर्ना हुने विद्यार्थीको संख्या पूर्वानुमान गरी सो अनुसार अनुदान रकम स्थानीय तहमार्फत विद्यालयमा पठाइसकिएको छ,” उपनिर्देशक अर्याले भने, “यसरी सरकारी अनुदानको रकमबाट निशुल्क पाठ्यपुस्तक पाउने विद्यार्थीको संख्या कक्षा १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ रहेका छन् ।”
त्यसमध्ये कक्षा ५ सम्म ३३ लाख ५ हजार ६ सय १४ विद्यार्थीका लागि १ करोड ६५ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ भने कक्षा ६ देखि १० सम्म अध्ययनरत २२ लाख २४ हजार ९१७ विद्यार्थीका लागि १ करोड ९२ लाख ३९ हजार ६५६ थान पाठ्यपुस्तक आवश्यक हुने उनले जानकारी दिए । यी पुस्तकमध्ये कक्षा ५ सम्म निजी मुद्रक तथा बाँकी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गर्दै आएको छ । यस वर्ष सामुदायिक विद्यालयको पाठ्यपुस्तकको मूल्यवृद्धि गरेसँगै सरकारले यसमा दिँदै आएको अनुदानसमेत बढेको छ ।
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको पाठ्यपुस्तक खरिद गर्न गत वर्ष १ अर्ब ८३ लाख रुपैयाँ विनियोजन गरे पनि यो वर्ष बढेर २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष देशभर अनुदानमा पुस्तक पाउने विद्यार्थीको संख्या ५७ लाख ५७ हजार ७ सय ४४ रहेका थिए भने यो वर्ष सो संख्या घटेर ५५ लाख ३० हजार ५ सय ३१ मा झरेकोे छ ।
“निशुल्क पाठ्यपुस्तकको अनुदान स्थानीय तहले कसरी र कति दरमा, कहिले विद्यालयलाई निकासा दिने र कसरी प्रभावकारी रूपमा वितरण भन्ने सम्बन्धमा कार्यक्रम कार्यान्वयन निर्देशिकामा भएको प्रावधानसहित पुष, माघ र फागुनमा सार्वजनिक सूचना गरिसकिएको छ,” उपनिर्देशक अर्यालले भने, “विभागले पाठ्यपुस्तक वितरण व्यवस्थित गर्न केन्द्रीय अनुगमन समितिको बैठक निरन्तर सञ्चालन गरी शैक्षिक सत्रको सुरु वैशाख १ अघि नै विद्यार्थीको हातमा पूर्ण सेटसहित पुराउने कार्य भइरहेको छ ।