धादिङ चैत्र २। प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा तोकेको छ । ३ नम्बर प्रदेश सरकारले महानगरपालिकाका मेयरले ४६ हजार तलब, ३ हजार सञ्चार सुविधा, दैनिक भ्रमण भत्ता २ हजार, विदेश जाँदा दैनिक २०० डलर, यात्रा विमा १० लाखको हुने निर्णय गरेको छ ।
यस्तै उपमेयरले ४० हजार २००० र वडाध्यक्षले २८ हजार पाउनेछन् । यस्तै उपमहानगरका मेयरले ४० हजार २०० र उपमेयरले ३५ हजार र वडाध्यक्षले २५ हजार पाउनेछन् ।
नगरपालिकाका मेयरले ३५ हजार, उपमेयरले ३१ हजार र वडाध्यक्षले २२ हजार तलब पाउनेछन् । गाउँपालिकाका अध्यक्षले ३१ हजार पाउनेछन् भने उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार पाउनेछन् ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका मेयरले सरह ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले ४० हजार २०० पाउनेछन् । यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउनेछन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्वन्धी विधेयक पास गरे पनि प्रदेशसभाले अनुमोदन गर्न भने बाँकीनै रहेको छ । प्रदेशसभाले पारित गरे सँगै कार्यान्वयनमा जाने छ ।