सम्पादकीय: आगलागीबाट बचौँ बचाऔंं

Avatar photo
Dhadingpost
चैत्र १, २०७४

धादिङ चैत्र १ । गर्मी यामको सुरुवातसँगै आगलागी तथा डढेलोको प्रकोप बढ्ने सम्भाबना बढेर गएको छ । गत वर्षहरुमा यहि समयमा नै देशका विभिन्न भागमा आगलागीका कारण कैयौ धनजनको क्षति ब्यहोर्नु परेको थियो ।

धादिङ जिल्लामा मात्रै ९२ हजार ८५४ हेक्टर क्षेत्रफल रहेकोमा गत वर्ष करीब २५ हजार हेक्टर डढेलोले विनाश पारेको आँकडा जिल्ला वन कार्यालय धादिङले सार्वजानिक गरेको थियो ।

यस वर्षको गर्मी याम लागे सँगै गल्छी गाउँपालिकाको अँधेरीखोला सामुदायिक वनमा फागुन २० गतेदेखि डढेलो लाग्दा खानेपानीको हाहाकार हुन पुगेको थियो । त्यसैगरी गत मंगलबार बेनिघाट रोराङ गाउँपालिका २ चोतेसमा आगलागीबाट स्थानीय विमल चेपाङको घर पुर्ण रुपमा जलेर नष्ट हुन पुगेको छ । यसरी डढेलोको प्रकोप चैत तथा वैशाख महिनामा झन् बढेर जाने सम्भावना देखिन्छ ।

प्राकृतिक तथा दैवी प्रकोप कसैको नियन्त्रणमा हुँदैन तर हाम्रा लापरवाहीले आगलागी र डढेलो जस्ता घटनाहरुमा बढोत्तरी भईराखेको छ । न निभाईकन फालेको चुरोटको ठुटो, बनभोज गर्दा फुकेको आगोबाट हावाहुरीका कारण अन्जानबश डढेलो लाग्छ भने कतिपय ठाउँमा बर्षा याममा घाँस राम्रोसँग पलाउने, बाटो हिड्दा डर लाग्दो झाडी देखिए कै कारण तथा दाउराको अभाव पुर्ति गर्नको लागि पनि गाउँघर तिर वन जंगलमा जानाजान डढेलो लगाउने क्रम बढ्दो छ । वन जंगलमा लाग्ने यस्ता डढेलोले वातावरणमा समेत प्रतिकूल असर पार्ने गर्छन् । तीव्र रुपमा भइराखेको जलवायु परिवर्तनमा आगलागीले मद्दत पु¥याउँछ जुन राम्रो कुरा होइन । जलवायु परिवर्तनलाई बढावा दिनु भनेको हाम्रा सन्तती र हाम्रो भविष्यमा नकारात्मक असर पु¥याउनु हो ।
त्यसैले गर्मी याम सँगै आगलागीको जोखिम प्रति सावधानी अपनाउन जरुरी छ ।

हिंउद तथा गर्मी यामको सुख्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएको र हाम्रो सानो लापर्वाहीले डढेलोको ठूलो रुप लिन सक्ने भन्दै जिल्ला वन धादिङले विभिन्न बुँदामा सुरक्षाका तरिकाहरु समेत जारी गरेको छ । त्यसैले ठुलो जनधनको क्षतिबाट बच्नको लागि सावधानी अपनाऔ । आगलागीबाट बचौ र बचाऔ ।