धादिङ फागुन १७ । धादिङबेसीमा रङहरुको पर्व अर्थात् होली पर्व धुमधामले मनाईएको छ ।
बिहिबार बिहानै देखि धादिङबेसी सदरमुकाम रंग, पिचकारीले रंगिएको थियो । पसलहरु आम्सिक खुले भने युवाहरु दिनभर विभिन्न रङ्ग दलेर बजार परिक्रमा गरेका थिए ।
विगतका वर्षहरुमा भन्दा केहि सुधार आएको होली पर्वमा इच्छावेगर रङ्ग दल्ने, फोहोर पानी छ्याप्ने चलनमा यस पटक शुन्यप्राय देखियो । स्कुले ठीटाठीटीहरुले मजैले होलिमा रंगिएका देखिन्थे ।
पौराणिक महत्व
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) जिम्मा दिएका थिए ।
दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । तर प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो ।
इतिहासकारहरू मान्छन कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ।