अर्जुन श्रेष्ठ
धादिङ, फागुन १३ । धादिङका भुकम्पका कारण विस्थापित बनेका २४ घरधुरीले जग्गा र लालपुर्जा पाएका छन् ।
खनियाँबास गाउँपालिका–४, धादिङकी ६१ वर्षीय कामिस्या तामाङ भूकम्प गएदेखि अहिलेसम्म ढुक्कले सुत्न पाएका थिएनन् ।
भूकम्पले घर मात्रै भत्किएन, घर बनाउने सुरक्षित जग्गा समेत छैन । अस्थायी टहरामा बस्दै आउनुभएकी तामाङको टहरा भन्दा थोरै तलबाट पहिरो चलिरहेको छ ।
तर सरकारले जोखिम बस्तीमा रहेका प्रभावितलाइ सरकारले जग्गा किन्न दिएको २ लाख रकमबाट तामाङले जग्गा पाए। एकल महिला तामाङलाई जग्गा किनेर घर बनाउला जस्तै लागेको थिएन् । ‘चार आना जग्गा पाएँ, खुशी छु’, तामाङ भन्छिन्, ‘आवास सहयोगार्थ सरकारले दिएको अनुदान रकमको पहिलो किस्ता ५० हजार पनि लिएँ । खुकुरीको धारमा टेकेर कतिञ्जेल हिड्नु । अब छिट्टै घर बनाउँछु ।’
दार्खाकै कृष्णबहादुर तामाङ पनि जग्गा पाएकोमा खुशी छन् । ‘भूकम्पपछि सबै कुरा गुमेपछि बाँच्ने आधार देखेको थिइन’, कृष्णबहादुर भन्छन्, ‘सबै भन्दा ठूलो कुरा घर जग्गा रहेछ । अब त ज्याला मजदूरी गरेर पनि परिवार पाल्न सक्छु ।’
गंगाजमुना गाउँपालिका–२, धादिङकी अनिता तामाङको बस्तमा पनि भूकम्पका कारण बस्न नहुने गरी पहिरो गयो । उनी भूकम्पपछि बुवाको घरमा बस्दै आएका थिए । ‘जग्गा किन्ने पैसा अभावका कारण घरको जगसमेत बनाउन सकेका थिएनौं’, अनिता भन्छिन्, ‘तर अहिले सरकारले दिएको २ लाख रुपैयाँबाट ५ आना जग्गा पाएको छु । अब छिट्टै घर बनाउने तयारीमा छु ।’
भूकम्प र भूकम्पपछिको पहिरोको कारण धादिङका धेरै नागरिक विस्थापित भएका थिए । रुविभ्याली गाउँपालिका–५, धादिङकी शान्तिमाया तामाङ भूकम्पपछि जिल्लाको सदरमुकाम धादिङबेशी बस्दै आएका छन् । ‘ज्याला मजदूरी गरेर मुस्किलले दुई छाकको जोहो भएको छ’, तामाङ भन्छन् , ‘सरकारले जग्गा किन्न दिएको २ लाख रकमले गाउँ नजिकै बस्न योग्य ठाउँमा ५ आना जग्गा किनेको छु । अब गाउँमा फर्केर घर बनाउने हो ।’
गाउँमा भएको भए खेतीपाती गरेरै भए पनि सजिलै खान पुग्थ्यो । शहरमा दिनभरि काम गरे पनि राम्रोसँग खान नपुग्ने शान्तिमाया बताउँछिन् । धादिङ जिल्लामा सरकारले पहिलो चरणमा जग्गा किन्न २ लाख रकम पाउने सूचीमा २ सय जनाको नाम सार्वजनिक गरेको थियो । अहिलेसम्म २ सय जना प्रभावित मध्ये २४ जना प्रभावितहरुले आवश्यक प्रक्रिया तथा मापदण्ड पूरा गरेपछि जग्गा किन्न २-२ लाख रुपैयाँ पाएका छन् ।
सरकारले जोखिम बस्तीका बासिन्दा र भूकम्पका कारण घर बनाउने जग्गा नभएका प्रभावितको लागि बढीमा २ लाख रकम दिएको हो । प्रभावितहरुको साविकको भन्दा अन्य ठाउँमा बस्न योग्य जग्गा जमिन नभएको वडा कार्यालय र पालिकाले प्रमाणित गरेपछि मात्र २ लाख रुपैयाँ पाउन योग्य ठहरिएका हुन् । सामुदायिक आत्मनिर्भर सेवा केन्द्र धादिङले जग्गा खरिद गर्न अनुदान रकम पाइने फारमदेखि जग्गा पास गर्ने चरणसम्म सहजीकरण गरिरहेको छ ।
प्रभावितले २ लाख रुपैयाँमा जग्गा किन्न श्रीमान श्रीमतीको नाममा संयुक्त लालपूर्जा लिनुपर्ने हुन्छ । संयुक्त लालपूर्जा र लिखतको आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा बिक्री गर्ने जग्गा धनीलाई बैङ्क खातामा चेक मार्फत रकम जम्मा गर्ने गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङका प्रमुख रविचन्द्र पञ्जियारले बताए ।
तिप्लिङ, शेर्तुङ, लापा, सेमजोङलगायत धादिङ साविकका गाविसमा करिब १० गाउँहरु पुनः भौगर्विक सर्वेक्षण भएको छ । तर, केन्द्रिय प्राधिकरणबाट अध्ययनको नतिजा भने प्रकाशन हुन बाँकी रहेको बताइएको छ ।