धादिङ फागुन ९ । साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शुहहेरत्न शाक्यले धादिङ महोत्सवमा राखिने निर्यात जन्य सामाग्री यूरोप पठाउने बताएका छन् ।
फागुन १६ देखि २७ गते सम्म हुने महोत्सव तयारीको अनुगमनमा धादिङ आएका महासंघका अध्यक्ष शाक्यले महोत्सव तयारीको ८५ प्रतिशद काम सकिएको पाएको र आयोजकलाई महोत्सव राखिने निर्यात जन्य जिल्लाका सामान यूरोप पठाउने जानकारी गराएका हुन् ।
महासंघको चौथो अधिवेशन पछि धादिङ जिल्लाले पहिलो सार्वजनिक कार्यक्रमको आयोजना गरेकोमा खुसि व्यक्त गर्दै निवर्तमान अध्यक्ष जंगबहादुर श्रेष्ठले धादिङपोष्ट सँग कुरा गर्दै भने- महोत्सव उपयुक्त समयमा सुरु हुने भएको छ, यूरोपियन युनियन र महासंघ बीच स्थानिय उत्पादन निर्यातको विषयमा सम्झौता भएकोले धादिङ मात्र नभई प्रदेश ३ स्तरीय महोत्सव बनाउने जोडमा रहेको बताए ।
शाक्य सहित महासचिव सुमन सुवाल, कोषाध्यक्ष धर्मानन्द श्रेष्ठ, सल्लाहकार केदार शाक्य र निवर्तमान केन्द्रिय अध्यक्ष जंगबहादुर श्रेष्ठको टोली धादिङ आएको थियो । महोत्सव आयोजक समिति र उक्त केन्द्रिय टोली महोत्सवको अन्तिम तयारीको विषयमा प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीलाई भेटेको छ । प्रमुख जिल्ला अधिकारी भण्डारीले महोत्सवलाई पूर्ण सहयोग हुने बताएको महोत्सव आयोजक समितिका अध्यक्ष रामलाल श्रेष्ठले बताए ।
बुधबार पत्रकार नै सम्मेलन सम्पन्न
महोत्सव आयोजक समिति साना तथा मझौला ब्यवसायी महासंघ जिल्ला शाखा धादिङले बुधबार धादिङवेसीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताउँदै अध्यक्ष रामलाल श्रेष्ठले महोत्सव सभ्य र भव्य बनाउनका लागि सहयोग आग्रह समेत गरे ।
महोत्सवको तयारीको ८५ प्रतिशद काम सकिएको बताउँदै अध्यक्ष श्रेष्ठले पत्रकारलाई जानकारी गराउँदै भने धादिङ जिल्लाको पेरिफेरीमा रहेका धार्मिक स्थल, पर्यटकीय क्षेत्र तथा महत्वपूर्ण स्थानहरुको अवलोकन गर्नको लागि हेलिकोप्टरबाट अबलोकन गर्ने व्यवस्था समेत मिलाईएको छ ।
हेलिकोप्टरबाट गरिने अवलोकन पनि २०-२५ मिनेटसम्मको हुने गरी तयारी गरिएको छ । केही बेर अबलोकन गर्न सक्ने गरी विभिन्न रुट निर्माण तथा समय तालिका पनि निर्माण गर्ने काम भैरहेको छ ।
धादिङ जिल्लामा जन्मिएर विभिन्न स्थानमा रहेका लेखक, साहित्यकार लगायतले प्रकाशन गरेका विभिन्न महत्वपूर्ण पुस्तकहरु प्रदर्शनीमा राखिने महत्वपूर्ण क्षेत्रका केही स्टलहरुलाई महोत्सवमा निःशुल्क राख्ने हस्तकलाका सामग्रीहरु तथा घरेलु सामग्रीको प्रदर्शनीलाई विशेष महत्व दिईने छ ।