माओवादी केन्द्र धादिङको जिल्ला कार्यालय खोई ?

Avatar photo
Dhadingpost
शनिबार, माघ २७, २०७४

धादिङ माघ २८ । धादिङ जिल्लामा केहि महिना देखि माओवादी केन्द्रको जिल्ला कार्यालय कतै भेटिदैन ।

शान्तिप्रक्रिया सँगै धादिङबेसीमा माओवादी केन्द्रले जनसम्पर्क कार्यालय संचालन गर्दै आएको थियो, तर स्थानीय तहको चुनाव सकियको केहि समय पछि कता हरायो जिल्ला कार्यालय, कार्यकर्ताहरुले चासो व्यक्त गर्न थालेका छन् ।

सुरुमा शान्तबजारमा कार्यालय संचालन गरेको माओवादी केन्द्रले धादिङबेसी रायटार, बीचबजार चिल्ड्रेनपार्क चोक, सुगम टोल गणेश हिमाल होटल सँगैको घरमा कार्यालय संचालनमा थियो । त्यसपछि जिल्ला अध्यक्ष शालिकराम जमकट्टेलले जिल्ला पदाधिकारीलाई समेत जानकारी नगराई पुछार बजार सारेपछि कार्यालयमा आवतजावत शुन्य हुदै गएको एक पदाधिकारीले बताए ।

अहिले पुछारबजारमा माओवादी केन्द्रले कार्यालय संचालन गरेको ठाउँमा धादिङ संचार प्रालिले भाडामा लिएर अफिस संचालन गरेको देखिन्छ ।
स्थानीय प्रत्यक्ष्यदर्शिका अनुसार उक्त कार्यालयको सामान जिल्ला सचिव विजय बुर्लाकोटीले ट्याक्टरमा हालेर लगेका हुन् । त्यसपछि कहि कतै कार्यालय संचालनमा आएको देखिँदैन ।

कार्यालयको विषयमा जिज्ञासा राख्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष माधव छत्कुली सामाजिक संचालमा यसरी लेख्छन् ।

माओवादी केन्द्र धादिङ किन अस्तव्यस्त बन्दै गयो कार्यालय खोई ? यस विषयमा जिल्ला नेताहरु बोल्न चाहँदैनन् । द्वन्दकालमा प्रयोग गरिएका उच्च स्तरका प्रविधि देखि, शान्ति प्रक्रियामा प्रवेश सँगै धादिङबेसी सदरमुकाम सँगैको क्याम्पमा प्रयोग गरिएका सर सामाग्री देखि अहिले सम्मको पार्टीको सम्पत्ती कहाँ कस्ले खर्च र चलन गरेको छ । हरेक पटक कार्यालय सार्ने नाममा कार्यालयका सामानहरु हराउने गरेका छन् । त्यो समेत खोजिनु पर्ने, शान्ति प्रक्रिया सुरुको बेला गोप्य रुपमा ड्रम गरिएका अध्ययन सामाग्रीहरु समेत खोजिनु पर्ने आवाज उठ्न थालेको एक जिल्ला सदस्यले धादिङपोष्टलाई बताए ।