धादिङ । बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेर पनि नेपाली सांगितिक क्षेत्रमा आफ्नो पाइला अघि बढाउदै आएका धादिङे गायक सुदीप गैरेले आफ्नो लोकदोहोरी गिती एल्बम “मरुभूमि” भर्खरै मात्र बजारमा ल्याएका छन् ।
धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत मुर्चोक घर भई विगत लामो समयदेखि युएईमा कार्यरत गैरेको आफ्नै रचनामा यस अघि पनि लेङ्गा चोली, धादिङ सल्यानटार, बिदेशमा पैसा दिन्छ सिमलको अग्लो रुखले जस्ता गीतहरु बजारमा आइसकेका छन !
“चर्को गर्मी बाहिरको काम पर्छ, हेर्नै हुन्न आखामा घामपर्छ मरुभूमिमा बालुवा तात्तिन्छ” जस्ता मर्मस्पर्शी तथा परदेशीको पीडा बोकेको शब्दहरुद्धारा सिंचित उक्त गीतमा गायक सुदिप गैरेलाई गायिका जसु अधिकारी (सम्झना) स्वरबद्ध गर्न साथ दिएकी छिन् ।
म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको “मरुभूमि” एल्बममा गायक सुदिप गैरे तथा मोडल आशा खड्काको मार्मिक अभिनय रहेको छ । उक्त गीतलाई सफलता म्युजिक प्रालिले बजारमा ल्याएको छ
नेपाल तथा युएईको विभिन्न ठाउँहरुमा छायाँकन गरिएको उक्त गीतमा लय तथा शब्द गायक स्वयं गैरेको नै रहेको छ । एकेन्द्र सारा शंकरले निर्देशन गरेको गिती भिडियोको छायाँकन बासु बराल र लाल बहादुर ढेंगाको रहेको छ । उक्त गीतलाई पदम सुवेदीले सम्पादन गरेका छन् ।
लाखौ नेपालीहरु स्वदेशमा रोजगारीको अभावका कारण विदेशिन बाध्य श्रीमान श्रीमतिको पीडालाई गीतमा उतारिएको बताउदै गीतले दर्शकहरुको अपार माया पाउने कुरामा आफु ढुक्क रहेको गायक सुदिप गैरेले बताए ।