युएईवासी धादिङेलीहरुको लागि सस्तो हवाई टिकट सम्झौता

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ९, २०७४

हरि नेपाली
धादिङ, माघ ९ । बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका धादिङेलीहरुको संस्था धादिङ समाज युएई र ग्रीनलाईन ट्राभल्सबीच सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने गरि एक सम्झौतामा हस्ताक्षर भएको छ ।
धादिङ समाज युएईका तर्फबाट अध्यक्ष योगेन्द्र थापा र ग्रीनलाईन ट्राभल्स युएईका तर्फवाट उक्त ट्राभल्सका संचालक तथा धादिङ समाज युएईका आजीवन सदस्य ठाकुरप्रसाद ढुंगानाद्धारा हस्ताक्षतिर सम्झौता पत्रमा धादिङ समाज युएईका आजीवन सदस्यहरुलाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउने उल्लेख गरिएको छ ।
एकबर्षको लागि भएको उक्त सम्झौता अनुसार ग्रीनलाईन ट्राभल्स मार्फत हवाई टिकट लिई नेपाल जाने धादिङ समाज युएईका आजीवन सदस्यहरुलाई नोभेम्बर १ देखि अगस्ट ३१ सम्म ९९० दिहराममा दुई तर्फी र ५५० दिहराममा एकतर्फी हवाई टिकट उपलब्ध गराउने छ । त्यसैगरी सेप्टेम्बर १ देखि अक्टोबर अन्तिम सम्मको लागि १२०० दिहराममा दुई तर्फी र ७५० दिहराममा एकतर्फी हवाई टिकट उपलब्ध गराउन पर्नेछ ।
धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापाले “समाजले आफ्ना आजीवन सदस्यहरुको वृहत्तर सुविधालाई ध्यानमा राखी यो सम्झौता गरिएको” जनाएका छन् । साथै समाजको आफ्ना सदस्यहरुलाई प्रदान गर्ने गरेको सहुलियतका कारण आजीवन सदस्यमा वृद्धि हुने समेत विश्वास व्यक्त गरेका छन् ।
ग्रीनलाईन ट्राभल्सका संचालक तथा समाजका आजीवन सदस्य ठाकुरप्रसाद ढुंगानाले आफ्नो जिल्लावासीहरुको लागि आफुले सक्दो सहयोग गर्न पाएको खुसी व्यक्त गर्नुभयो ।
भर्खरैमात्र विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भई कार्य सम्पादन गर्दै आएको संस्था धादिङ समाज युएईले यस अघि नै आफ्ना आजीवन सदस्यहरु वैदेशिक रोजगारीको क्रममा मृत्यु भए एक लाख रुपैया र घाइते तथा अंगभंग भएमा पचास हजार रुपैया दिने घोषणा गरि कार्यान्वयनमा समेत ल्याई सकेको छ ।