धादिङ, माघ ३ गते । नेपाली काँग्रेसमा सामुहिक नेतृत्वको खाँचो रहेको नेपाली काँग्रेसका नेता अर्जुन नरसिँह केसीले बताएका छन् ।
नेपाल विद्यार्थी संघ प्रदेश नं ३ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता केसीले लोकतान्त्रिक पद्धति बोकेको नेपाली काँग्रेसमा लोकतान्त्रिक प्रवृत्तिको खाँचो रहेको बताएका हुन् ।
नेता केसीले निर्वाचनमा हारको मूल दोषी काँग्रेसको नेतृत्व नै रहेको बताउँदै काँग्रेस व्यक्तिले होइन समूह र पद्धतिमा मात्र होइन प्रवृत्तिमा पनि सुधार आवश्यक रहेको बताए । शक्तिको पछाडि लाग्ने प्रवृत्ति त्यागेर सत्यको पछाडि हिँड्नु पर्नेमा नेता केसीको जोड थियो । चन्द्र भण्डारी लगायत सात युवाले अगाडि सारेको मतलाई आफ्नो समर्थन रहेको बताउँदै नेता केसीले युवा नेतृत्व अगाडि आउँदा आफू अभिभावकको भूमिकामा बस्न तयार रहेको बताए ।
नेपाली काँग्रेसले प्रचण्डको नेतृत्वलाई स्वीकार गरेर सत्तामा जाने सपना देख्नै नहुने केसीको जोड थियो । साथै केसीले निर्वाचनमा हारेकाहरुलाई राष्ट्रिय सभामा लैजाने काम काँग्रेसले गर्न नहुने नेता केसीको भनाइ थियो । सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुट उपगुट छोडेर आफूहरु काँग्रेस बनाउने अभियानमा लागेको बताउँदै सबै विद्यार्थीहरुको साथको अपेक्षा रहेको बताएका छन् । नेता भण्डारीले ७५ वर्ष कटेका नेताहरुले पार्टीमा आमाबुबाको भूमिकामा बस्न आग्रह गर्दै काँग्रेसभित्र मौलाउँदै गएको दानासाही प्रवृत्ति हटाउनु पर्ने बताए ।
एक दिने प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका नेता रामनाथ अधिकारी, जगदिश नरसिँह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायतले नेपाली काँग्रेस नयाँ शैलीका साथ सामुहिक नेतृत्वका बिच अगाडि बढ्नु पर्नेमा जोड दिए । नेपाल विद्यार्थी सँघ धादिङको अध्यक्ष ईश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा १३ जिल्लाका २ सय भन्दा बढी नेविसंघका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।