काठमाडौं माघ ३ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति फागुन १०–१३ गते सम्म संगठनात्मक पुनर्संरचनाको गृहकार्य लागि बिस्तारित बैठक गर्ने भएको छ ।
चुनावलगत्तै महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बोलाएर कास्कीको ल्वाङ पुगेको नयाँ शक्तिले फागुनमा संघीय परिषदको बिस्तारित बैठक बोलाउने निर्णय गरेको थियो ।
‘हामी संघीय परिषदको बिस्तारित बैठकबाट सबैले महसुस गर्नेगरी केही नयाँ निर्णय गर्ने तयारी गरिरहेका छौं,’ नयाँ शक्तिका नेता गंगानारायण श्रेष्ठले भने, ‘पार्टीको संगठनात्मक पुनर्संरचना गर्नको लागि हामी पार्टी सदस्यदेखि केन्द्रसम्मको अवस्थालाई तथ्यांकमा उतार्ने काम गरिरहेका छौं । पार्टी सदस्यता नविकरण, संकलन र संगठनात्मक तयारीमा जुटिरहेका छौं ।’ उनले ल्वाङ बैठकले तय गरेको एक महिने कार्ययोजनालाई लागू गरिरहेको बताए ।
‘जनताको वाम गठबन्धनबाट स्थिरता र सुशासनको महसुस गर्न पाउने अपेक्षा पूरा नहुने सुरुवाती गतिविधिहरुले नै पुष्टि गरिरहेको छ,’ नयाँ शक्तिका एक नेताले भने, ‘बिस्तारै नागरिकमा मात्र होइन, उनीहरुकै कार्यकर्ता तहसम्म निराशा सञ्चार हुन्छ र आम निराशाको अवस्था सिर्जना हुन्छ ।’ जनताले दिएको मतले पनि वैकल्पिक ध्रुव सम्भव छ भन्ने देखाएको स्पष्ट पार्दै ती नेताले भने, ‘हामीले राजनीति गर्ने पर्याप्त स्पेश छ, बरु जनताले विश्वास गर्न लायक शक्ति बनेर अगाडि आउन सक्ने कि नसक्ने भन्ने चूनौतीको भने सफल सामना गर्न सक्नुपर्छ ।’
अवसरको खोजी गर्दै आएकाहरु निर्वाचन व्यहोरेर यहाँसम्म आइपुग्दा लगभग निख्रिएको बताउँदै उनले भने, ‘अब बाँकी रहेका सबै पाँचरदश वर्ष कुर्न तयार र राजनीतिका चरित्रहरु फेर्न तयार पंक्ति हुनुहुन्छ । उहाँहरुको अनुहार, गतिविधि र जीवनशैलीमा नयाँ शक्तिको चित्र देखिने र नयाँ पुस्ताले विश्वास गर्न लायक पार्टी बन्छ ।’