प्रदेश सदस्यमा शालिकराम जमकट्टेल विजयी

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २२, २०७४

धादिङबेसी मंसिर २२ । धादिङ प्रतिनिधी सभा क्षेत्र नं १ अन्तरगत प्रदेश २ को सदस्यमा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेल विजयी भएका छन् ।
जमकट्टेलले २३३८२ मत ल्याई लोक तान्त्रिक गठबन्धन नेपाली काँग्रेसका प्रभात किरण सुवेदीलाई पराजय गरेका थिए । प्रतिद्वन्दी सुवेदीले १० हजार ४०७ मत प्राप्त गरेका थिए ।

जमकट्टेलको व्यक्तिगत प्रोफाईल

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज हुन् । बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ बाट उनी मजदुर संगठनमा लागे । सुरुमा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्षसम्म बने । माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे । २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेर नेतृत्व गरे । त्यसक्रममा उनले राष्ट्रिय राजनीतिमा पनि आफ्नो पहिचान बनाउन सफल भए । ०६३ को पुनर्स्थापित संसदको मनोनित सदस्य बनेका जम्कट्टेलले २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरे । यद्यपि २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे । पछिल्लो डेढ वर्षयता जम्कट्टेल धादिङमै केन्द्रित छन् ।