यसरी लगाउनुस् तीन मतपत्रमा, चार छाप

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ५, २०७४

धादिङबेसी मंसिर ५ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा धादिङ जिल्लामा २ सय ७५ मतदान केन्द्र मतादाताहरुले मतदान गर्दै छन् । प्रदेशसभाको संरचना यस अघिसम्म नभएको र निर्वाचन पनि नहुँदा मतदातालाई भोट हाल्ने तरिकाबारे निकै अन्यौल छ ।

यहि अन्यौलतालाई हल गर्न जिल्ला जिर्वाचन कार्यालयले मतदान शिक्षा कार्यक्रम आयोजना गरि रहेको छ । मंगलबार धादिङबेसी बीचबजारमा नमुना मतदान गर्दै निर्वाचनका कर्मचारीहरुले तीन मतपत्रमा चार छाप लगाउन सिकाएका थिए । बेग्लाबेग्लै ४ खालका जनप्रतिनिधि चुनिने यस चुनावबाट प्रतिनिधिसभा तर्फ पहिलो हुनेले जित्ने (प्रत्यक्ष) र समानुपातिकका गरी दुईखाले उम्मेदवार छानिने छन् । प्रदेशसभातर्फ पनि पहिलो हुनेले जित्ने र समानुपातिकका उम्मेदवार नै छानिँदै छन् ।

पहिलो हुनेले जित्ने प्रणालीको निर्वाचनको मतपरिणाम जिल्लामै घोषणा गरिनेछ । प्रतिनिधिसभातर्फ समानुपातिकमा देश नै एउटा निर्वाचन क्षेत्र र प्रदेशसभामा सम्बन्धित प्रदेश एउटा निर्वाचन क्षेत्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समानुपातिकमा आएको मतका आधारमा दलहरूले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट विजयी तोकिन छ ।

तीन मतपत्र
प्रतिनिधिसभाको प्रत्यक्षका उम्मेदवार छान्न सेतो भुइँमा हरियो मसीको चुनाव चिह्न भएको मतपत्र छ । प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार छान्न सेतो भुइँमा कालो मसीका चुनाव चिह्न छन् । प्रत्यक्षका दुबैखाले मतपत्रमा निर्वाचन क्षेत्रअनुसार चुनाव चिह्नका प्रकार र संख्या बेग्लाबेग्लै रहेको छ । ‘जति उम्मेदवार उठेका छन् उनीहरूको मात्रै चुनाव चिह्न मतपत्रमा छ,’ रहेकोले झुकिनु पर्ने अवस्था छैन ।

समानुपातिकका दुवैखाले (प्रतिनिधिसभा र प्रदेशसभा) उम्मेदवार छान्ने मतपत्र चाहिँ एउटै छ । त्यसमा सेतो भुइँमा रातो मसीका चुनाव चिह्न छन् । एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभाका लागि र तल्लो खण्डमा प्रदेशसभाको दल छान्ने चिह्न राखिएको छ । यो मतपत्रको माथिल्लो भागमा देशभरका लागि ८८ चिह्न र तल्लो भागमा (प्रदेशतर्फ) भने जिल्ला अनुसार फरक–फरक चिह्न राखिएको छ ।

मतदान प्रक्रिया
सबैभन्दा पहिले मतदातालाई प्रतिनिधिसभा सदस्य छान्ने हरियो रंगका चुनाव चिह्न भएको मतपत्र मात्र दिइन्छ । मतदाताले त्यसमा आफूले रोजेको चिह्नमा मतदान गरेर मतपेटिकामा खसालेपछि मात्र प्रदेशसभाको प्रत्यक्ष तर्फका उम्मेदवार छान्ने कालो रंगका चुनाव चिह्न भएको मतपत्र दिइन्छ ।

मतदानपछि त्यो मतपत्र पनि मतपेटिकामा खसालेपछि समानुपातिक तर्फ दल छान्ने मतपत्र दिइनेछ । ‘समानुपातिक तर्फको मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभाका लागि दलहरूका चुनाव चिह्नमा छाप लगाउनुपर्नेछ हुन्छ । मतपत्र एउटै र मतदान अधिकृतको हस्ताक्षर एउटै भएपनि यसमा भने एउटै मतपत्रमा २ वटा छाप लगाउन बिर्सनु हुँदैन ।’