काठमाडौं ३ मंसिर । प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाट स्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको खुल्न आएको छ । तीन दिनयता अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।
पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन्। । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । सामान्य ज्वरो आए पनि प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको पारिवारिक स्रोतले बतायो ।
खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुकहरु केही पनि चलाएनन् । उनले राति ११ बजेतिर उनले झापातिर एउटा म्यासेज पठाएको उनको मोवाइलबाट देखिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
प्रकाश दाहाल बिहानै चाँडै उठ्थे । तर, आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । उनको होस गुम भइसकेको थियो ।
छोरो अचेत अवस्थामा देखेपछि आमाले हतार/हतार सन्तु दराई लाई बोलाइन् । त्यहाँबाट गाडीमा हालेर नर्भिक अस्पतालमा पुर्याउँदा बिहानको करिब पौने ६ बजिसकेको थियो । र, त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको जानकारी प्राप्त भए पनि अस्पतालले उनको मृत्युको कारणबारे औपचारिक जानकारी दिन बाँकी छ अबको केही बेरमा उनको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी गरिरहेको छ । साभारःअनलाईन खवर