जिल्ला फर्कन धादिङ कांग्रेसको आग्रह

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २, २०७४

हरि पन्त
पोखरा मंसिर २ ।
धादिङ कांग्रेसका नेता तथा उम्मेदवारहरूले आसन्न चुनावका लागि जिल्ला फर्कन मतदातालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क सदनले आयोजना गरेको चुनावी सभामा उनीहरूले जिल्ला फर्किएर चुनावमा लाग्न र कांग्रेसलाई जिताउन आग्रह गरे ।
धादिङ क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राज्यमन्त्री दीलमान पाख्रिनले लोकतन्त्र बचाउन कांग्रेसलाई मत दिन आग्रह गरे । उनले भने, ‘तपाइँहरू अन्य समय आफ्नो काममा लाग्नुभयो । अबका केही दिन चुनावमा खटिएर कांग्रेसको पक्षमा माहोल बनाइनिदनुस् ।’ उनले यो चुनावमा भोट दिएर कांग्रेस पार्टीलाई गुन लगाउन र लोकतन्त्रको रक्षा गर्न आग्रह गरे ।
‘कांग्रेस यतिबेला गर या मर को अवस्थामा छ,’ राज्यमन्त्री पाख्रिनले भने, ‘कांग्रेसले जिते लोकतन्त्र रक्षा हुनुका साथै संविधान कार्यान्वयन हुन्छ । कम्युनिस्टले जिते एक दलीय अधिनायक वाद लाद्छन् ।’ उनले यो चुनावमा कांग्रेसले जिते ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई वृद्धभत्ता वितरण गर्ने कानुन निर्माण गर्ने स्पष्ट पारे ।
धादिङ कांग्रेसका सभापति एवं प्रदेशसभा उम्मेदवार रमेश धमलाले एमाले र माओवादी ढुलमुले पार्टी भएको भन्दै उनीहरूको शब्द जालमा मख्ख नपर्न आग्रह गरे । चुनावमा कांग्रेस पराजित भए लोकतन्त्र र मुलुकमा प्राप्त उपलव्धि गुम्ने खतरा हुने बताए ।
उनले भने, ‘मुलुकमा कम्युनिस्ट अधिनायकवाद लाद्ने प्रयत्न भइरहेको छ । यसबाट लोकतन्त्र र उपलव्धि रक्षा गर्न कांग्रेसलाई जिताउनै पर्दछ ।’अबको केही दिन गाउँ फर्किएर कम्युनिस्टको गलत गतिविधि रोक्ने प्रयत्न गर्न उनले आग्रह गरे ।
उनले संविधान कार्यान्वयन, लोकतन्त्र संरक्षण, समृद्धि मानवअधिकार र प्रेस स्वतन्त्रताका लागि कांग्रेसलाई मत दिएर जिताउनुपर्नेमा जोड दिए ।
धादिङ कांग्रेसका पार्टी सचिव विनोद तिमिल्सिनाले कम्युनिस्टहरू गाउँगाउँ पुगेर मतदाता समक्ष झुट्टो पुलिन्दा फालिरहेका छन्, त्यसलाई रोक्न यथाशीघ्र गाउँ फर्किन आग्रह गरे । अहिलेको वाम एकताबाट उनीहरूकै कार्यकर्ताले स्वीकार नगरेको भन्दै उनीहरूको यो एकता पानीको फोका जस्तै हराउने दावी गरे ।
नेविसंघका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले कांग्रेसकै नेतृत्वमा संविधान बनेकाले कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा हुनुपर्ने खाँचो औंल्याए ।
धादिङ कांग्रेसका महासमिति सदस्य यमनाथ दनैले मुलुकमा कम्युनिस्टहरूले उत्तर कोरियाको जस्तो अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसबाट मुलुक बचाउन कांग्रेसले जित्नुपर्ने बताए ।
कांग्रेस नेता खीलराज गिरीले अबको केही दिन कांग्रेसका लागि चुनावी मैदानमा खट्न र माहोल बनाउन आग्रह गरे ।
कांग्रेस सदनका सभापति लालप्रसाद पाठकको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपसभापति यादु प्रसाद ढकाल, सचिव माधव लम्साल लगायतले बोलेका थिए ।