राजु नेपालको चुनावी प्रतिवद्धता: कृषि र पर्यटनलाई जोड

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २७, २०७४

धादिङ कात्तिक २७ ।  धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का युवा उम्मेदवार राजु नेपालले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार भुमी त्रिपाठी र लोकतान्तिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार विश्वप्रकास अर्याललाई चुनौती बनेका नयाँ शक्ति पार्टी उम्मेदवार नेपालका राजु प्रतिबद्धता पत्रमार्फत आफ्नो एजेण्डा सार्वजनिक गरेका हुन् ।

कृषि, पर्यटन, शिक्षा स्वास्थ्य, सडक र बैदेशिक रोगजारलाई आफ्नो प्रतिबद्धता पत्रमा जोड दिएका छन् । ०५४ साल देखि सक्रिय राजनितिमा होमिएका नेपाल जयुद्धका खारिएका निस्वार्थी सरल र मिजाशिला नेता मध्य पर्दछन् । समृद्धि र भौतिक सभ्यताका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका उम्मेदवार नेपालले सार्वजनिक गर्नुभएको चुनावी एजेण्डा यस्ता छन् ।

कृषिः यो क्षेत्र काठमाडौंमा तरकारीको मागको महत्वपूर्ण हिस्सा पूरा गर्ने भूमिकामा छ । तर, धादिङको तरकारीले भारतको बजारबाट आउने तरकारीसँग पनि प्रतिष्पर्धा गर्न सकिरहेको छैन । सरकारले देशलाई कृषिप्रधान देश भनेको छ । राष्ट्रिय अर्थतन्त्रमा यो क्षेत्रले ३० प्रतिशतभन्दा बढी योगदान गर्दछ । तर कृषिमा राज्यको लगानी ५ प्रतिशतभन्दा तल छ । यसले कृषि र कृषकप्रतिको सरकारी रवैयालाई पुष्टि गर्दछ । नयाँ शक्ति पार्टी नेपाल र म कृषिमा बजेट बढाउँदै यसको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिन प्रतिवद्ध छौं । कृषिजन्य उत्पादनको न्यूनतम् लागत मूल्य निर्धारण, बहुआयामिकरुपमा अनुदान र सहयोग उपलब्ध गराउने र उत्पादनको वैज्ञानिक बजारीकरणमा मेरो पूर्ण मेहनत रहनेछ । खासगरी विषादि प्रयोगलाई न्यूनीकरण गर्दै अर्गानिक उत्पादन र विदेश निर्यातमा पनि पर्याप्त जोड दिइनेछ ।
पर्यटनः काठमाडौं, पोखरा र मुलुकका अन्य महत्वपूर्ण शहरहरु जोड्ने सडक मात्र होइन, धादिङको भौगोलिक विशिष्टता, रणनीतिक अवस्थिति, प्राकृति स्रोत र सम्पदाको उपलब्धतालाई पर्यटन उद्योगसँग जोड्न सके हाम्रो लागि यो अथाह अवसर हो । सुन्दरनागी, तोप्लाङ र बोन्लेको डाँडाहरुलाई हिल स्टेशनको रुपमा विकास गर्दै त्यहाँसम्म केवलकार, सडक र पदमार्गले जोड्न सकिन्छ । यसैगरी विभिन्न गाउँहरुमा होम स्टे सञ्चालन गर्ने, प्राकृतिक र सांस्कृतिक धरोहरहरुको संरक्षण गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न जोड दिइनेछ । महाभारतदेखि विभिन्न फाँटहरुसम्म जोडिएको यो क्षेत्रमा पदमार्गको विकास गरी पर्यटकलाई आकिर्षत गर्न सकिन्छ । यो पनि मेरो प्राथमिकतामा रहनेछ । यसैगरी, त्रिशुलीमा र्‍याफ्टिङलाई व्यवस्थित गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न विशेष पहल गरिनेछ ।
वैदेशिक रोजगारः राज्य र नेताको असक्षमताका कारण लाखौं युवाहरु विदेशिनु परेको छ । ुसुन साइलाु जस्ता गीतहरु नवजवानहरुले पीडासहित गाइरहेका छन् । वैदेशिक रोजगारीमा रहेका तीन चौथाई नेपाली युवा अदक्ष छन् र २ प्रतिशत मात्र दक्ष र २३ प्रतिशत अर्धदक्ष रहेको तथ्यांकहरुले देखाएका छन् । मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले २९ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ । यो भयानक तथ्यांकलाई सच्याउन म स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने, उद्यमशीलताको विकास गर्ने कार्यमा प्रतिवद्ध छु । यसको लागि विज्ञहरुसँग बसेर आवश्यक योजना तर्जुमा गरेर अगाडि बढ्ने सोचसहित समृद्धिलाई अर्जुन दृष्टि बनाएको नयाँ शक्तिमा जोडिएको छ । तर, तत्कालको लागि नेपाली युवालाई सीप, सर्टिफिकेट र सुरक्षासहित वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने योजनासहित युवा साथीहरुबीच आएको छु । यसले मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले गर्ने योगदान कयौं गुणा वृद्धि हुने विश्वास लिएको छु ।
पर्यावरणीय संरक्षण: पर्यावरणीय मुद्दा आजको विश्वको जल्दोबल्दो मुद्दा हो । पृथ्वी नै रहेन भने कहाँ राजनीति गर्ने रु तर पुराना पार्टी र नेताहरु प्रकृतिको अत्यधिक दोहन गरेर भावी पुस्ताको सुरक्षित पृथ्वीमा जन्मन र बाँच्न पाउने अधिकार हनन् गरिरहेका छन् । सुरक्षित र स्वच्छ वातावरणमा बाँच्न नपाउने मात्र होइन, मरेपछि लैजाने घाट र डाँडाकाँडाहरु पनि राजनीतिक संरक्षणमा सञ्चालित बालुवा तस्करहरुले खोसिरहेका छन् । यसर्थ, म ‘सफा त्रिशुली, पवित्र त्रिशुली’को अवधारणासहित आएको छु । यो पवित्र कर्ममा सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । गिट्टी, बालुवाको तस्करी र इट्टालगायतका कलकारखानाको अव्यस्थित विकासले हामीलाई धूलैधूलो र बगरैबगरको बस्तीमा बस्न बाध्य बनाइँदैछ । यसको विरुद्ध म कडा अभियान चलाउनेछु । साथसाथै, सामुदायिक वन संरक्षण गर्ने, सांस्कृतिक धरोहरहरुको संरक्षणलगायतका मुद्दाहरु पनि मेरो प्राथमिकतामा पर्नेछन् ।
स्याटेलाइट सिटीः काठमाडौंसँग जोडिएको धुनिवेसी नगरपालिलाई नमूनाको रुपमा व्यवस्थित सहरीकरण गर्नुपर्दछ ।।यो क्षेत्र व्यवस्थापन गर्न सके अवसर र व्यवस्थापन गर्न नसके चुनौती बन्ने निश्चित छ । चुनौतीहरुलाई अवसरमा ढाल्ने र अवसरहरुको अधिकतम् उपयोग गरी उक्त नगरपालिकालाई काठमाडौंको स्याटेलाइट सिटीको रुपमा विकास गरिनेछ । विकासका न्यूनतम पूर्वाधारहरु विकास गरी व्यवस्थित शहरीकरणको नमूना शहरको रुपमा विकास गरिनेछ । खासगरी काठमाडौंमा अव्यवस्थितरुपमा रहेका शिक्षालयलाई धुनीबेसी नगरपालिकामा स्थानान्तरण गर्ने योजनासहित यो क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्न प्रयत्न गर्नेछु । यहाँ विभिन्न विश्वविद्यालयलाई नै स्थानान्तरण गर्न प्रयास गरिनेछ ।
राजमार्गः सुरक्षित र सुन्दर सञ्जालसहितको सडक सभ्यताको विकास मेरो सपना हो । धादिङमा ८४ किलोमिटर पृथ्वी राजमार्ग पर्दछ । यो हामीलाई अवसर बनेको छ कि चुनौती रु पटक पटक भइरहने दुर्घटना, होटलको गुणस्तर र महंगी, धमिलो त्रिशुली, गुणस्तरहिन सडक, कमजोर पूर्वाधार आदि आदि यसको पहिचानजस्तै बनेको छ । तर, यति लामो सडक हाम्रो लागि अवसर पनि बन्न सक्छ । हरेक २० किलोमिटरमा हामीले कम्तिमा चारवटा रिफ्रेसमेन्ट सेन्टर खोल्नेगरी म योजना निर्माण र कार्यान्वयनमा सक्रिय रहनेछु । यी नमूना रिफ्रेसमेन्ट सेन्टरहरु सुविधासम्पन्न हुनेछन् । धादिङमा उत्पादित वस्तुहरुदेखि यात्रुको हरेक माग सम्बोधन हुनेगरी बनाइने यस्ता केन्द्रहरुबाट यात्रुले भरपूर आनन्द लिन सक्नेछन् । काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको धार्के, गल्छी, आदमघाट र मलेखुमा लोकल स्टेशन राख्दै त्यहाँ अन्य पूर्वाधार निर्माण गरी नमूना शहरको रुपमा विकास गरिनेछ ।
सूचना प्रविधिको विकास र उपयोगः हाम्रा डाँडाकाँडाहरु अभिशाप मात्र होइन, वरदान पनि हो । डाँडाहरुमा शक्तिशाली वाईफाई राख्दै सूचना प्रविधिबाट विश्वलाई जोड्न पनि सकिन्छ । टेलिमेडिसिन, अनलाइन शिक्षालगायतको विकासका लागि पूर्वाधार निर्माण गर्दै यो क्षेत्रलाई सूचना प्रविधिमैत्री बनाउँदै विश्वसँग जोडिनेछ ।