पुस ४-६ सम्म प्रिन्टिङ र फोटोग्राफी एक्स्पो हुने

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १६, २०७४

धादिङ कात्तिक १६ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले आगामी पुस ४ देखि ६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एन्ड फोटोग्राफी एक्स्पो गर्ने भएको छ। नेपाल भर ३२ वटा शाखा रहेको (एनएफपिजे) ले हेबी हेल्प लिंकको मुख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफीको एक्स्पो २०७४ गर्न लागेको गर्न लागेको हो ।

अन्तर्राष्ट्रियस्तरको प्रिन्टिङ एन्ड फोटोग्राफी एक्स्पोमा प्रिन्टिङ एन्ड फोटोग्राफी सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरुको सहभागिता रहनेछ । जापान, कोरिया, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा प्रत्यक्ष रुपमा सहभागिता जनाउने बताईएको छ ।

प्रिन्टिङतर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफीतर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाइल, ल्यापटप ,कम्प्युटर, वित्तीयतर्फ बैंक तथा बिमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धी कलेजहरु, इस्टिच्युटहरु, प्रकाशन गृह लगायतको सहभागिता रहने छ ।

२०५३ सालमा स्थापना भएको राष्ट्रिय फोटो पत्रकार समूह देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता संगठन हो ।